अन्तर्राष्ट्रिय

राणाले भारत भ्रमणमा के उठाईन के छुटाइन ?




कपिलवस्तु ४ भदौ।पाँच दिने औपचारिक भ्रमणका लागि भारत गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले अझै दुई रात नयाँ दिल्लीमै बिताउने छिन्। मुख्य राजनीतिक भेटघाट सोमबार नै सकिएकाले भ्रमणको बाँकी समय उनी व्यक्तिगत काममा ज्यादा व्यस्त हुनेछिन्। विशेषगरी आफ्नो स्वास्थ्योपचारमा राणाले केही समय खर्चिने छिन्। डा. राणा विगत चार वर्षदेखि उपचारका लागि नयाँ दिल्ली आउजाउ गरिरहेकी छिन्।२०८० चैतमा उनले थाइराइडबाट छुटकारा पाउन नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया गराएकी थिइन्। यसपाली पनि उपचारका सिलसिलामा दिल्ली जाने तयारीमा थिइन्। त्यो थाहा पाएपछि भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमणमा आउन लागेका विदेश सचिव विक्रम मिस्रीमार्फत राणालाई औपचारिक भारत भ्रमणको निम्तो पठाएका थिए।भारतीय विदेश सचिव मिस्री २७ साउनमा नेपाल आए। दुई दिनका लागि नेपाल आएका उनले त्यही बेला परराष्ट्रमन्त्री डा. राणालाई एस जयशंकरको निम्तो समेत थमाए। मिस्री स्वदेश फर्र्किकएको केही दिनमै डा. राणाको भारत भ्रमण तय भएको थियो।
स्वास्थ्य उपचारका लागि भारत जान लागेकी राणाको भ्रमणलाई भारत आफैँ अग्रसर भएर औपचारिक बनाउनुले नै नरेन्द्र मोदी नेतृत्वको सरकारले महत्त्व दिएको सन्देश प्रवाह भइसकेको थियो। भारतका लागि पूर्व नेपाली राजदूत नीलाम्बर आचार्य भ्रमणको निमन्त्रणाले नै त्यसलाई पुष्टि गर्ने बताउँछन्। ‘महत्त्व दिएको त निमन्त्रणाबाटै प्रष्ट हुन्छ,’ उनले भने, ‘उहाँ कुनै व्यक्तिगत भेटघाटमा जानु भएको होइन, भारतीय सरकारका विदेशमन्त्रीले निमन्त्रणा गरेर जानु भएको हो। त्यसैले एउटा औपचारिक भ्रमणमा जे जस्ता हुनुपर्ने हो, त्यो भएका छन्।’भारतले परराष्ट्रमन्त्री राणाका लागि सुरक्षा प्रबन्ध पनि सोहीअनुसार दिएको छ। उनलाई राजकीय स्तरको सुरक्षा उपलब्ध गराएको छ, जुन निकै उच्च प्राथमिकता दिइएका विदेशी पाहुनाका लागि मात्रै दिने गरिन्छ।
मोदीले दिएको महत्व :

परराष्ट्रमन्त्री राणाको भारत भम्रण यस्तो बेलामा भयो, जतिबेला विदेशमन्त्री एस जयशंकर कुवेतको भ्रणमा निस्केका थिए। मलेसियाका प्रधानमन्त्री र जापानी रक्षा एवं विदेशमन्त्री पनि सोमबार नै भारत भ्रमणमा आइपुगेका थिए। मोदी युद्धग्रस्त युक्रेन र पोल्यान्ड भ्रमणमा जाने तयारी पनि चलिरहेकै थियो।अनि निकै घनिष्ठ छिमेकी बंगलादेशमा आएको राजनीतिक उथलपुथल र पश्चिम बंगालको राजधानी कोलकातामा एक चिकित्सकको बलात्कार र बीभत्स हत्याले देशभित्रै आक्रोशको ज्वाला उत्पन्न भएको स्थिति त छँदै थियो। यस्तो स्थितिमा प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री राणासँग भेट्ने समय निकाल्नुले नै भ्रमणलाई निकै महत्त्व दिएको देखिने कूटनीतिक मामिलाका विश्लेषक चन्द्रदेव भट्ट बताउँछन्।
‘उहाँ (मोदी)को विदेशमन्त्री कुवेत जानु भएको थियो,’ उनले भने, ‘त्यहाँबाट आएर हाम्रो परराष्ट्रमन्त्रीलाई भेट्नुभयो। मोदी आफैँ पनि मंगलबारदेखि युक्रेन र पोल्यान्डको भ्रमणमा जाँदै हुनुहुन्छ। त्यति व्यस्त हुँदाहुँदै पनि मोदीले हाम्रो परराष्ट्रमन्त्रीलाई भेट्नको लागि समय निकाल्नुभयो। नत्र, परराष्ट्रमन्त्रीकै तहमा भ्रमणलाई टुंग्याइदिएको भए पनि हुन्थ्यो।’
नेपालको परराष्ट्रमन्त्रीलाई मोदीले दिएको भेटले मात्रै होइन, त्यतिबेला आफ्नो टोलीमा समावेश गरेका सदस्यहरूका कारणले पनि भ्रमणलाई महत्त्व दिएको प्रस्ट थाहा हुने भट्टको भनाइ छ। उनी भन्छन्, ‘मोदीले हाम्रो परराष्ट्रमन्त्रीलाई भेट्दा त्यहाँ अजित डोभाल पनि सहभागी हुनुहुन्थ्यो। परराष्ट्रमन्त्री, परराष्ट्रसचिव र राजदूत पनि हुनुहुन्थ्यो। त्यसले निकै महत्त्व दिएको जस्तो लाग्छ।’
मोदी र राणाको शिष्टचार भेटवार्तामा भारतको तर्फबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, मोदीका प्रिन्सिपल सेक्रेटरी पीके मिश्र, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए। त्यस्तै नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना, भारतमा रहेको नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, दूतावासकी मिनिस्टर काउन्सुलर दुरपदा सापकोटा सहभागी थिए। बरु नेपाली टोलीमा तीन जना कनिष्ठ कर्मचारी मात्रै सहभागी गराइनु नेपालको कमजोरी भएको भट्टको तर्क छ।
विगतमा यस्तै भ्रमणमा जाने नेपालका निकै कममात्र परराष्ट्रमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट गर्ने अवसर पाएका छन्। पछिल्लो समय नेपालका दुईजना परराष्ट्रमन्त्रीले मात्रै भारतीय समकक्षीबाट भ्रमणका लागि औपचारिक निमन्त्रणा पाएका छन्। सन् २०१७ मा तत्कालीन उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई तत्कालीन भारतीय विदेशमन्त्री सुस्मा स्वराजले निमन्त्रणा दिएकी थिइन्। महरा सन् २०१७ को जुलाई २ देखि ४ सम्म भारतको भ्रमणमा गए पनि उनले प्रधानमन्त्री मोदीसँग भेटको अवसर पाएका थिएनन्।
त्यस्तै सन् २०२१ को जनवरीमा नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकका लागि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली गएका थिए। समकक्षी एस जयशंकरकै निमन्त्रणामा उनी भारत गएको भए पनि प्रधानमन्त्री मोदीसँग उनको शिष्टाचार भेटघाट हुन सकेको थिएन। संविधान निर्माणमा भारतको सुझावलाई नमानेको, त्यसको निहुँमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको, नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा देखाएपछि त्यसको प्रतिवादमा नेपालले पनि संसदबाट नयाँ नक्सा जारी गरेको जस्ता विषयले त्यतिबेला मोदीसँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध चिसिएको थियो। चिसिएको त्यही सम्बन्धका कारण नेपालको प्रयत्नको बाबजुद पनि मोदीले ज्ञवालीलाई भेट्न नमानेको अड्कल त्यतिबेला गरिएको थियो।
भारतले किन दियो महत्व?
मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटपछि त्यसलाई लिएर नेपालमा पनि अनेक कोणबाट टिकाटिप्पणी सुरू भएको छ। कूटनीति र रक्षा मामिलामा कलम चलाउने पूर्वउपरथी बिनोज बस्न्यातले यो भ्रमणले ‘नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरू भएको’ जस्तो आफूलाई लागेको नेपालखबरलाई बताए। विश्लेषक भट्टचाहिँ बंगलादेशमा हालै भएको राजनीतिक परिवर्तनबाट छिमेकमा अझ मसिनोगरी सबै पक्षसँग ‘इन्गेज’ हुनुपर्ने निष्कर्षमा भारत पुगेकाले नेपाललाई पनि महत्त्व दिएको बताउँछन्।
‘बंगलादेशको घटनाबाट उनीहरू चिन्तित छन्,’ उनको भनाइ छ, ‘जुन किसिमले बंगलादेशमा भारत एउटा पार्टी वा व्यक्तिसँग मात्रै ‘इन्गेज’ भएको थियो, त्यस्तो इन्गेजमेन्टबाट बाहिर निस्कनुपर्छ भन्ने उसले बुझ्यो। छिमेकी सानो होस् या कमजोर, महत्त्व चाहिँ सबैलाई दिनुपर्छ भन्ने महसुस गरेको जस्तो देखिन्छ।’

पछिल्लो समय भारतले नेपाललाई ‘छिमेक पहिलो नीति’को प्राथमिक साझेदार बताउने गरेको छ। सन् २०१४ मा सत्तामा आएपछि मोदीले यो नीति अघि सारेका थिए। तर, त्यो व्यवहारमा लागू यसअघि भएको देखिएन। त्यसमा कमजोरी भएको महसुस मोदीले अहिले गरेको कतिपय नेपाली विश्लेषकको बुझाइ छ।

राणाले के कुरा उठाइन्, के छुटाइन ?
परराष्ट्रमन्त्री राणाले मोदीसँगको शिष्टाचार भेटमा नेपाल भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन्। समकक्षी जयशंकरसँगको द्वीपक्षीय भेटमा भने उनले नेपाल–भारत सम्बन्धका विविध विषय उठाएकी थिइन्। भ्रमणबारे दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई रुट, बाढी नियन्त्रण, पञ्चेश्वर परियोजना, खेल, सीमा पूर्वाधार जस्ता विषय उठेका थिए। ‘उहाँले भेटमा सीमाबाहेक अरु ससाना सबै विषयमा कुरा उठाउनु भएको छ,’ भट्ट भन्छन्, ‘यसले दुई देशका बीचमा ‘कन्फिडेन्स’ विकास भयो। यसले भोलि फेरि उच्च तहमा वार्ता गर्नलाई सहयोग पु¥याउँछ।’लिपुलेक, कालापानी, सुस्ता लगायतका ठाउँमा भारतसँग नेपालको सीमा विवाद छ। यी विषयमा पछिल्लो समय छलफल नै हुन सकेको छैन। परराष्ट्रमन्त्री राणा पनि यो विषयमा मौन बसिन्। सबै विवादलाई समग्रमा हल गर्नेगरी गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन बुझ्न पनि भारतले अनाकानी गरिरहेको छ।
त्यस्तै नेपालले लामो समयदेखि नेपालगन्ज, भैरहवा, पोखरा र धनगढीका विमानस्थलका लागि हवाई रुटको विषय उठाउँदै आएको छ। सीमावर्ती यी विमानस्थलबाट उडान र अवतरण गर्दा भारतीय आकाश समेत छुने भएकाले त्यसमा भारतको अनुमति चाहिन्छ। भारतले यसमा पनि आनाकानी गर्दै आएको छ।यी समग्र विषयमा आगामी दिनमा हल खोज्नका लागि परराष्ट्रमन्त्री राणाको भ्रमणले विश्वासको वातावरण बनाएको अर्का विश्लेषक बस्न्यातको भनाइ छ। ‘मलाई के लाग्छ भने अहिलेको भ्रमणले त्यो वातावरणचाहिँ बन्यो,’ उनको भनाइ छ, ‘तर, मुख्य प्रश्न अब आउने दिनमा यो वातावरणलाई हामी कसरी दुई राष्ट्रको फाइदाका निम्ति प्रयोग गर्छौं भन्ने हो।’

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६