अर्थ-वाणिज्य

भूमी ब्यवस्था मन्त्री अधिकारीको प्रमुख आतिथ्यतामा जब वीरेन्द्र र गिरिजाको भेट भयो

प्रधानमन्त्री ओली देखि बालेनसम्मलाई झटारो



काठमाडौँ ५ भदौ । ‘राजनीति’ राज्यको नीति र व्यवस्थालाई ठिक राख्ने मूल व्यवहारगत व्यवस्था हो । तर, हाम्रो देशमा राजनीतिमै गाईजात्रा छ । नेपालमा सरकारदेखि सडकसम्म गाईजात्रा नै जाईजात्रा छ । सबैतिरको यस्तै गाईजात्रालाई व्यङ्ग्य गर्ने उद्देश्यकासाथ काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भइसकेको छ ‘एकासीको गाईजात्रा’ ।आइतबारबाट सुरु भएको ‘एकासीको गाईजात्रा’ लाई कलाकार मनोज गजुरेलले संयोजन गरेका हुन् । यसमा नेपालका हरेक राजनीतिक पक्षदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म, पूर्व प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म, खेलाडीदेखि कलाकारसम्म, कर्मचारीदेखि अदालतसम्म सबै विषय समेटेका छन् ।

कलाकारले यो पटक सबैभन्दा धेरै झटारो पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि बर्साएका छन् । यसपटक सबैभन्दा बलियो झटारो कलाकार शैलेन्द्र सिम्खडाको रहेको छ ।गाईजात्रा कार्यक्रममा कलाकार मनोज गजुरेलको गेटअपको चर्चा हरेक वर्ष हुन्छ । यो वर्ष पनि गजुरेललाई दर्शकले दुई फरक गेटअपमा पाउनेछन् । स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह र बहुला आम नागरिक ।‘पुनर्जन्म शीर्षक’को प्रहसनमा वीरेन्द्र र गिरिजाप्रसाद कोइरालाबिच आमनागरिकको रूपमा जन्म भएपछिको संवाद प्रस्तुत छ । वीरेन्द्रको नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने पूर्व जन्मको चाहना पूरा गर्न नागरिकको रूपमा जन्म भएको देखाइएको छ । गिरिजाको पनि चाहना त्यही देखिन्छ ।
वीरेन्द्र र गिरिजाको संवादमा राजतन्त्रको पुनर्बहालीदेखि हरेक व्यवस्थाको विषयमा समेत बहस हुन्छ । दुवैको बहसबाट व्यवस्थापक र व्यवस्थापन राम्रो नहुँदा नेपाल बिग्रिएको निचोड निस्कन्छ । दुईको संवादले दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य गराउँछ । यो संवादमा के–के विषय पर्छ, कुरो थाहा पाउन भने कार्यक्रम हेर्नुको विकल्प छैन ।प्रहसनमा गजुरेललाई गिरिजाप्रसाद कोइरालाको रूपमा कलाकार चक्र दुवाडीले साथ दिएका थिए । सिस्नुपानीका सदस्यसमेत रहेका दुवाडीले गत वर्ष बीपी कोइरालको गेटअपमा दर्शकलाई मनोरञ्जन दिएका थिए ।मनोजको दोस्रो गटेअप एक ‘बहुला’ मानिसको थियो । यो पात्रमार्फत गजुरेलले संविधान संशोधन, संविधान कार्यान्वयन, राष्ट्रिय सहमतिका साथै सहकारी समस्या, मिटरब्याजको समस्या, वैदेशिक रोजगारीको समस्यालगायतको पीडाबाट विक्षिप्त एक व्यक्तिको कथा पस्किएका छन् ।
अभिनेत्री रिमा विश्वकर्माले स्टेजमा कार्यक्रमको होस्ट गरिरहँदा बहुला मानिसको शैलीमा नेपाली राष्ट्रिय झण्डा राखिएको बोरा बोक्दै दर्शक दीर्घबाट एक्कासि स्टेजतर्फ उनी बढ्दा सबै त्रसित देखिन्थे । त्यो गेटअपमा उनी कलाकार गजुरेल नै हुन् भनेर ठम्याउन जो कोहीलाई मुस्किल पर्थ्यो । जब स्टेजमा पुगेर उनले ईपीएस, सहकारीलगायत देशमा वर्षभरि घटेका महत्त्वपूर्ण घटना कोट्याउँथे, दर्शक छिनमै भावुक हुन्थे । मनोजको एकल प्रस्तुतिले दर्शकको सिटी र तालीको राम्रो साथ पाएको थियो । पुराना र नयाँ पुस्ताको फ्युजनको अलावा नव बाल प्रतिभालाई समेत दर्शकका अगाडि यो पटक गजुरेलले उभ्याएका छन् । शैलेन्द सिंखडा, सुबोध गौतम, साजन श्रेष्ठ, मेक्सम गौडेल, चक्र दवाडी, सीता न्यौपाने, आशिष खनाल, पर्वत लामा, यमन श्रेष्ठ, प्रकृति गिरी लगायतको प्रस्तुतिको कार्यक्रम ‘एकासीको गाईजात्रा’ले दर्शकलाई मनोरञ्जन प्रदान गर्छ ।
कक्षा ५ मा अध्ययनरत बालकलाकार युमी गौतमको ‘नेपाली हो नि गर्छ’ शीर्षकको हास्य कविताबाट सुरु भएको थियो । उनले आम नेपालीको प्रवृत्तिमाथि कवितामार्फत व्यङ्ग्य हान्छिन् ।कार्यक्रममा मेक्सम गौडेल र सुबोध गौतमको ‘न घरवाला, न डेरावाल’ दर्शकले सायदै बिर्सन सक्लान् । गौडेल र गौतमले घरबेटी र डेरावालको प्रस्तुतिमा घरबेटीको समस्या, राजनीतिक, पार्टीका विद्यार्थी संगठनका दादागिरी लगायतका विषय समेटिएका छन् । ‘न घरवाला, न डेरावाल’ को प्रस्तुतिमा कलाकारले राखेको हरेक विषयमा दर्शक नहाँसी सुखै पाउँदैनन् ।
कार्यक्रममा कलाकार प्रभात लामाले कुलमान घिसिङ र सुन तस्कर गर्ने एक व्यक्तिको भूमिकामा प्रस्तुति दिएका छन् । कुलमानको भूमिकामा विद्युत्को पैसा नतिर्नेदेखि उनलाई हटाउन खोज्ने प्रधानमन्त्री केपी शर्मासम्म प्रस्तुतिको विषय बन्दा सुन तस्करीको भूमिकामा उनले नेतादेखि सर्वसाधारण सम्मलाई जोड्छन् । सुन तस्करीका प्रस्तुतिमा उनलाई ट्याक्सी चालकको रूपमा साथ दिएका छन्, कलाकार साजन श्रेष्ठले ।सीता न्यौपानेले कार्यक्रममा खल्लो प्रस्तुति दिइन् । करिब १० मिनेट भन्दै स्टेजमामा देखिएकी उनले दिएको १५ मिनेटको प्रस्तुतिमा यसपटक एक–दुई पन्चमा बाहेक दर्शक हाँस्न सकेनन् ।गाईजात्रा कार्यक्रममा शैलेन्द्र सिम्खडाको प्रस्तुतिले बेग्लै रौनक थाप्छ ।दर्शकलाई सबैभन्दा बढी खिच्का छुटाउने काम सिम्खडा गरे । सोही कार्यक्रममा बालेन र पत्रकारको अन्तर्वार्ता पनि थियो । नव कलाकार आशिष खनाल बालेनको रूपमा प्रकृति गिरी पत्रकारको रूपमा प्रस्तुत भएर दर्शकको मन जिते । कार्यक्रममा यमन श्रेष्ठले भने एक प्यारोडी गीत राखेका थिए ।

एकासीको गाई जात्रा नाम दिइएको ३ घण्टा बढीको प्रस्तुती भूमी ब्यवस्था मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यता थियो । प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने तय भएको उक्त कार्यक्रममा ओली आउन नसकेपछि अधिकारीले प्रमुख आतिथ्यता गर्नु भएको थियो । सार्वजनिक सस्थान कर्मचारी यूनिएन (पिन) सह आयोजक रहेको उक्त कार्यक्रमको इमभेण्ट आयोजक वाइड एंगल र डिजिटल पाटनर ब्राण्ड विथ रहेका थिए ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६