प्रदेश

काठका भाँडा बनाउने चुँदारा समुदायको पेसा सङ्कटमा



गुल्मी, ०६ भदौ । पछिल्लो समय यहाँ काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रुपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडा बिक्री हुन थालेपछि आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताए ।

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक प्रविधिका भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको कार्कीले बताए । ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरी जस्ता भाँडा दूध, दही र मही राख्नका लागि प्रयोग गरिन्छ । काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानका लागि निकै स्वादिलो र राम्रो मानिन्छ ।

पछिल्लो समयमा विस्तारै गाउँघरमा काठबाट निर्मित सामग्री विस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का धनबहादुर नेपाली बताउछन् । नयाँ पुस्ता बिस्तारै गाउँ छाडेर सहर तथा विदेश जाने र पुराना पुस्ता मात्रै रहेपछि यस्तो समस्या आएको उनले बताए । परम्परागत पेसा र पुराना सामग्रीको संरक्षण गर्न स्थानीय पालिकाले पनि खासै चासो देखाएका छैनन् ।पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत खासै प्राथमिकता नदिइएको चुँदारा समुदायको गुनासो छ ।

परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा बिस्तारै काठका भाँडा लोप हुँदै जान थालेका हुन् । बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडा झट्ट देख्दा आकर्षक देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए । यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि पालिकाहरुले विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए ।

परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरुको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ । परम्परागत रुपमा यो पेसा गर्दै आएका व्यवसायी पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउनसमेत गाह्रो भएको बताउँछन् । आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि गाउँगाउँ डुलाउँदा पनि कहिलेकाहीँ बिक्री नहुँदा रित्तै खाली हात फर्किनु परेको छत्रकोट गाउँपालिका‐१ हुँगाका यमन सुनारले गुनासो गरे ।

काठबाट निर्मित भाँडाको महत्वका बारेमा जानकारी नभएका कारण पनि पछिल्लो समयमा चुँदाराको पेसा सङ्कटमा परेको हो । गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा रु सात सयदेखि रु छ हजारभन्दा धेरै मूल्य पर्ने गर्दछ । जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सवलगायत सहकारी पसल र कोसेली घरमा यस्ता प्रकारका सामग्री बिक्रीका लागि राखिएका हुन्छन् ।

प्रकाशित : ६ भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६