अन्तर्राष्ट्रिय

सरकारभन्दा शक्तिशाली इलोन मस्क : मस्कको शक्तिको स्रोत र सीमा के कति हो ?



कपिलवस्तु २१ भदौ ।ठूला व्यवसायी र अर्बपतिहरू प्रायः राजनीतिक विवादबाट टाढै बस्ने गर्छन्। तिनले शक्ति अभ्यास गर्दा पनि पर्दापछाडि अँध्यारोमा गर्ने गर्छन्। तर, इलोन मस्क फरक छन्। पछिल्लो केही सातामा उनले डोनाल्ड ट्रम्पलाई समर्थन गरे। उनीसँग आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा नरम प्रश्न मात्र सोधेर अन्तर्वार्ता पनि लिए। यही बीचमा उनले ब्राजिलको सर्वोच्च अदालतसँग सार्वजनिक रूपमै नराम्रो झगडा पनि गरे। ब्राजिलले गतसाता आफ्नो मुलुकमा एक्सलाई प्रतिबन्ध लगाएको छ।

बेलायतमा गृहयुद्ध अवश्यंभावी रहेको दाबी पनि उनले हालै गरेका छन्। टेलिग्रामका संस्थापक पावेल दुरोवलाई फ्रान्समा गरिएको गिरफ्तारीपछि उनको प्रतिक्रिया छ, ‘२०३० मा युरोप– मिम लाइक गरेकोमा तपाईंलाई मृत्युदण्ड दिइँदैछ।’

एक्स किनेसँगै आफ्नो विचार प्रचार गर्न मस्कले एउटा विशाल माइक फेला पारेका छन्। तर, उनको सामाजिक सञ्जालमा मात्र ध्यान केन्द्रित गर्दा मस्कको भूराजनीतिक शक्तिको वास्तविक सीमा र स्रोत अस्पष्ट हुन पुग्छ।

स्पेस एक्स, स्टारलिंक र टेस्लाको नियन्त्रण पनि मस्ककै हातमा छ। यसले युक्रेन युद्ध र बढ्दो अमेरिका–चीन प्रतिद्वन्द्वितामा मस्कलाई केन्द्रीय भूमिका दिएको छ भने गाजा युद्धमा पनि उनले सानो भूमिका पाएका छन्।
पश्चिमको ‘कल्चर वार’मा भन्दा यी द्वन्द्वहरूमा मस्कको भूमिका ज्यादा अस्पष्ट छ। उनको प्राविधिक र वित्तीय शक्ति अपार छँदैछ। त्यसमाथि उनको अप्रत्याशित हस्तक्षेपले मस्कलाई अनियन्त्रित भूराजनीतिक क्षेप्यास्त्र बनाएको छ। जसको सनकले विश्वव्यापी मुद्दाहरूको ढाँचा नै बदलिदिन सक्छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दा उसको एउटा पहिलो लक्ष्य थियो, युक्रेनको इन्टरनेट पहुँच समाप्त गर्नु। तर, युक्रेनलाई स्टारलिंक इन्टरनेट सेवा दिएर मस्कले अत्यन्त महत्त्वपूर्ण क्षणमा युक्रेनको सेनालाई लडाइँमा टिकाइराखे।

तर, पछि मस्कले स्टारलिंकमा युक्रेनको पहुँचमा लगाम लगाउने निर्णय गरे। जसले गर्दा क्रिमियास्थित रुसी फौजमाथि आक्रमण गर्ने युक्रेनको प्रयासमा बाधा पुगोस्। आफ्नो सो निर्णयलाई उचित ठहर्‍याउन उनले तेस्रो विश्वयुद्धको जोखिम देखाए। उनको सो कार्य र रुसका केही माग पूरा गरेर शान्ति सम्झौता गर्नुपर्छ भन्ने उनको धारणाले किभमा मस्कको लोकप्रियता निकै घटायो। तर, तेस्रो विश्वयुद्धबारे उनको धारणा बाइडेन प्रशासनको भन्दा ज्यादा फरक भने थिएन।

तर, चीनका विषयमा भने मस्क र अमेरिकी सरकारको धारणा निकै अलग छन्। मस्कले सांघाईमा २०१९ मा विशाल टेस्ला कारखाना खोले। यसलाई वासिङ्टनमा भविष्यमुखी प्रविधिमा चीनभन्दा अगाडि रहने अमेरिकी योजनामा मस्कले दिएको ठूलो धक्काको रूपमा हेरियो। अहिले चीन विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक बनेको छ। चिनियाँ कम्पनीहरूले टेस्लाबाट प्रविधि सिकेको र कहिलेकाहीँ चोरेको अमेरिकी अधिकारीहरूको विश्वास छ।

बाइडेन प्रशासनले प्रमुख अमेरिकी कम्पनीहरूलाई चीनबाट निस्केर अन्यत्र कारखाना खोल्न मनाउने कोसिस गरिरहेको छ। केही महिनाअघि मस्कले भारतमा टेस्ला कारखाना खोल्ने योजना लिएर दिल्ली भ्रमण गर्ने तय भएको थियो। तर, अन्तिम समयमा आएर उनले भारत भ्रमण रद्द गरे। बरु बेइजिङ गए। चीन पुगेर उनले टेस्ला र चीनको सम्बन्धलाई अझ गाढा बनाउने काम गरे। अहिले टेस्लाको जम्मा उत्पादनको आधाभन्दा बढी हिस्सा सांघाईको कारखानामा बन्छ।

मस्क अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्छन्। विश्व नेताहरूको बेइज्जती गर्न उनलाई जाँगर चल्छ। तर, यो चीनका हकमा लागू नहुने अमेरिकी अधिकारीहरूको भनाइ छ। चीनमा एक्स प्रतिबन्धित छ। तर, मस्क चिनियाँ नेता सी चिनफिङप्रति अत्यन्त सम्मानजनक रूपमा प्रस्तुत हुन्छन्।

मस्कसँग कुरा मिलाउन सफल अर्का विदेशी नेता इजरायलका बेन्यामिन नेतन्याहु देखिन्छन्। एक्समा यहुदी घृणा प्रवद्र्धन गरेको आरोप मस्कमाथि लाग्ने गरेको छ। तर, गाजामा सहयोग दाता संस्थाहरूलाई स्टारलिंक इन्टरनेट उपलब्ध गराउने उनको प्रस्तावले चाहिँ इजरायली सरकारलाई चिन्तित तुल्याइदियो। यसले हमासलाई सहयोग पुग्ने इजरायलको दाबी थियो। तर, गत वर्ष इजरायल भ्रमण गरिसकेपछि मस्कले बोली फेरे। गाजामा इजरायली अनुमतिमा मात्र स्टारलिंक सञ्चालन गर्ने सहमति उनले गरे।

मस्कका कयौँ गतिविधिलाई लिएर बाइडेन प्रशासन असहज छ। तर, उनका कम्पनीहरूसँग त्यस्तो क्षमता छ, जुन क्षमता अमेरिकी सरकारसँग पनि छैन। युक्रेनलाई इन्टरनेटसँग जोडिराख्न जब मस्क हिच्किचाए, तब पेन्टागनले स्टारलिंकसँग अनुबन्ध सम्झौता गर्नुपर्‍यो। जब नासालाई अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म लैजानुपर्छ, अथवा त्यहाँबाट फिर्ता ल्याउनुपर्छ, तब स्पेसएक्सले नै सो काम गरिदिन्छ।

मस्क प्रायः सरकारभन्दा पनि ज्यादा शक्तिशाली व्यक्ति जसरी बोल्छन्, व्यवहार गर्छन्। उनले यसो गर्नुको कारण के हो भने उनी वास्तवमै निश्चित क्षेत्रमा सरकारभन्दा शक्तिशाली छन्।

तर, सरकारहरूसँग एउटा त्यस्तो शक्ति छ, जुन मस्कसँग छैन। त्यो हो– कानु बनाउने र लागू गर्ने शक्ति। ब्राजिल र एक्सको टक्कर अनि फ्रान्समा दुरोवको गिरफ्तारी, यी दुवै घटनाले देखाउँछन्– लोकतान्त्रिक दुनियाँमा सामाजिक सञ्जालको दण्डहीनता अन्त्य हुँदैछ। निरंकुश दुनियाँमा त त्यो स्वतन्त्रता छँदै थिएन।

सामाजिक सञ्जाल कम्पनीहरूलाई पनि आम सञ्चारमाध्यम जसरी नियमन गरिने सम्भावना बढ्दैछ। त्यसको प्रभाव निकै महँगो पर्नेछ। गत वर्ष फक्स न्युजले मानहानिको मुद्दा सल्ट्याउन भोटिङ मेसिन बनाउने डोमिनियन भोटिङ सिस्टमलाई ७८ करोड डलर तिर्नुपरेको थियो। फक्सले २०२० को अमेरिकी चुनावसम्बन्धी षड्यन्त्रका सिद्धान्तमा आधारित रिपोर्टिङ गरेको थियो। त्यस्ता षड्यन्त्रका सिद्धान्तले भरिभराउ छ। त्यसमध्ये केहीलाई त मस्क आफैँले प्रचार गरेका छन्। उनको सम्पत्ति जतिसुकै भए पनि, निस्सन्देह उत्कृष्ट इन्जिनियर र उद्यमी भए पनि आफूले काम गरेको मुलुकको कानुनको अधीनमा हुनेछन् उनी। यही महसुस भएकाले हुनसक्छ, ब्राजिल, बेलायत, ईयू र क्यालिफोर्निया राज्य र आफूविरुद्ध खडा हुने जोसुकैप्रति मस्क आक्रोशित देखिन्छन्। मस्कको शक्तिको स्रोत होइन एक्स। तर, यसले देखाउन सक्छ, मस्कको शक्तिको सीमा के हो।फाइनान्सियल टाइम्सबाट

प्रकाशित : २१ भाद्र २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६