ब्रेकिंग न्युज

बुटवल -गोरुसिंगे सडक बिस्तारमा नयाँ मोडालिटी



बुटवल २१ भदौ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडक बिस्तारका क्रममा भएका ढिला सुस्ति र यात्रुले भोग्नु परेका सास्तीबाट पाठ सिक्दै बुटवल–गोरुसिंगे सडक विस्तारमा नयाँ मोडालिटी अपनाउने भएको छ । निर्माणाधिन सिद्धाबा सुरुङमार्ग, बुटवल–नारायणगढ सडक बिस्तार लगायतका योजनाहरुको स्थलगत निरीक्षमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ मोडालिटीमा सडक बिस्तारको काम गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको जानकारी गराएका हुन् ।

विगत ६ वर्षदेखि विस्तारको काम भैरहेको बुटवल–नारायणगढ सडकमा यात्रुले धुलाम्मे र हिलाम्य भएर भोग्नु परेको समस्याबाट पाठ प्राप्त भएका कारण बुटवल–गोरुसिंगे सडकमा फरक किसिमले निर्माणलाई अगाडि बढाउने बारे निर्माण कम्पनीलाई आग्रह गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी गराएका थिए । ‘बुटवल नारायणगढ सडक बिस्तार गर्दा निर्माण कम्पनीले सुरुमै बीचको पीच सडक उप्काएर फाल्दा यात्रुलाई धेरै सास्ती भयो । अब बुटवल गोरुसिंगे सडक बिस्तार गर्दा त्यस्तो गर्ने होइन, पहिले छेउछाउका सडक मर्मतको काम गरेर मात्रै बीचको पीच सडक उप्काउनु पर्छ ।’–उनले भने ।

बुटवल(नारायणगढको सडक बिस्तारमा भएको ढिला सुस्ती र निर्माण कम्पनीले गलत ढंगले निर्माण कार्य अघि बढाउँदा सरकारले आलोचना खेप्नु परिरहेको छ । कामको गति बढाएर यस्तो समस्याको हल खोज्नेभन्दा सरकारले थप सडकमा समेत भद्रगोल अवस्था सिर्जना गरेको भन्दै जनस्तरबाट आलोचनाहरु आउने गरेका छन् । उक्त आलोचनालाई सम्बोधन गर्दै नयाँ विधिबाट निर्माण कार्यलाई अघि बढाउन सुझा प्रस्तुत गरिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । उनले नारायणगढ–मुग्लिङ सडकको नियति नदोहोरिने दाबी गरे ।

सडक विभागले बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर गरी सडक निमार्णको प्रक्रिया अघि बढाएको छ। बुटवलदेखि गोरुसिंगेसम्मको ५० किमि सडक २ वटा प्याकेजमा ठेक्का लगाइसकेको छ। गोरुसिंगेसम्मको काम सुरु भएसँगै चन्द्रौटासम्म ठेक्का लगाउने तयारी छ।

बुटवल गोरुसिंगे चन्द्रौटा सडक आयोजनाका अनुसार चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का पाएको छ। १३ अर्ब ५५ करोड रुपैयाँमा ठेक्का लागेको हो। महानिर्देशक पोखरेललले २ वटा खण्डमा ठेक्का लगाए पनि एउटै कम्पनीले पाएको महानिर्देशक पोखरेलले बताए । उनका अनुसार निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ भने काम सुरु गर्न केही शर्त गर्नुपर्नेछ। सडक विभागका शर्त पूरा भएसँगै दसैँपछि सडक निर्माण विस्तार सुरु हुनेछ।

यो सडक विस्तारमा रुख कटानको धेरै समस्या नभए पनि विद्युतका पोल सार्नुपर्ने मुख्य समस्या छ। यसका लागि विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पोल सारेर काम थाल्ने उनले बताए। सडक विस्तार गर्दा बजार क्षेत्रमा ८ लेनसम्म र अन्य ठाउँमा ४ लेनसम्म विस्तार हुनेछ। ठूला चोकहरुमा ‘अन्डर पास’ हुने भएकाले निर्माणपश्चात् पूर्व–पश्चिम राजमार्गमा गुड्नलाई सहज हुनेछ।

२०७५ माघमा नारायणगढ–बुटवल सडकको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो। ४२ महिनामा सक्नुपर्ने काम २ वर्ष थप गर्दा आधा मात्रै काम सम्पन्न भएको छ। ठेकेदार कम्पनीले करिब ७७ किलोमिटर २ लेनको कालोपत्रे गरेको छ। कम्पनीले केही गति बढाउनेबित्तिकै काम सकिन्छ। तर सरकारले सबै सहयोग गर्दा पनि काम गर्न नसकेको सडक विभागको दाबी छ।

प्रकाशित : २१ भाद्र २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६