अर्थ-वाणिज्य

लुम्बिनी विकास कोषका योजना प्रमुखमाथि भ्रष्टाचारसंगै सम्पत्ति शुद्धीकरणको अर्को मुद्धा



रुपन्देही २७ भदौ । भ्रष्टाचार मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानासहित गत जेठ ३१ मा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।भट्टराईले ठेक्कापट्टा दिलाएवापत् लिएको १ करोड ८५ लाख रुपैयाँ घुसको रकमबाट आमा जनक नन्दनीका नाममा जग्गा किनेर सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर भएको हो ।अख्तियारले भट्टराईलाई मुख्य अभियुक्त र उनकी आमा जनक नन्दनी भट्टराईलाई मतियारका रुपमा प्रतिवादी बनाएर बिहीबार १ करोड ८५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् । ठेकेदारलाई टेण्डर मिलाइदिएवापत् घुसमा लिएको १ करोड ८५ लाख रुपैयाँ रकम शुद्धीकरण गरेर आमाका नाममा भक्तपुरको गुण्डुमा जग्गा किनेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको भनाइ छ। कर्मचारीविरुद्ध अख्तियारले पहिलो पटक सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको जनाइएको छ ।

यसअघि उनलाई जेठ ३१ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते दायर गरेको मुद्दामा विशेष अदालतले दुई महिनामै फैसला गर्दै सजाय निर्धारण गरेको थियो ।

भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु गाविस–३ स्थित २ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७५ को जग्गा खरिद गरेका थिए ।

जग्गाको मोल तिरिदिने भने ठेकेदार थिए । भट्टराईले सो जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका सञ्चालकसँग घुस लिएर त्यो जग्गा किनेको अदालतको ठहर छ र जग्गा जफत हुने फैसला पनि अदालतले सुनाइसकेको छ ।कोषका वरिष्ठ इन्जिनियर पदका कर्मचारी भए पनि भट्टराई विगत ७ वर्षदेखि योजना प्रमुखको नियुक्ति लिई काम गरिरहेका थिए । तर पछिल्लो पटक कोषको उपाध्यक्षमा ल्यारक्याल लामा आएपछि उनलाई हटाएर स्मिता भट्टलाई उक्त जिम्मेवारी दिइएको थियो । भट्टराई विकास कोषमा पदाधिकारी नहुँदा विभिन्न समयमा निमित्त भएर काम गरेका थिए ।

प्रकाशित : २७ भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६