आशिष रेग्मी
कफिवस्तु २९ भदौ ।लोकप्रियतावाद अर्थात् पपुलिज्म आजको राजनीतिमा सामान्य जस्तो भइसकेको छ। स्थापित व्यवस्था, दल या विचारलाई विस्थापित गर्न आजको युगमा अल्पकालीन राजनीतिमा होमिनेहरूले पपुलिज्मको प्रयोग गरेको पाइन्छ। पश्चिमा समाजबाट उदय भएको लोकप्रियतावादले नेपालमा पाइला टेकिसकेको बुझ्न गाह्रो छैन। तर मूलधारका राजनीतिक दलहरूले पपुलिज्मलाई सही ढंगले सम्बोधन नगर्ने हो भने त्यसले लोकतन्त्रको जग नै ध्वस्त बनाइदिन सक्छ।
यो किन पनि हो भने पपुलिस्टहरूले आफ्नो शक्ति टिकाइराख्न लोकतान्त्रिक संस्थाहरूलाई ध्वस्त बनाउँदै लग्नुपर्छ। हंगेरीका भिक्टर ओर्बनले त्यसो गर्न सकेकैले उनलाई सबैभन्दा बढी समय सत्तामा टिक्ने पपुलिस्ट लिडरका रूपमा लिइन्छ। अमेरिकाका डोनाल्ड ट्रम्पले त्यसो गर्न नसक्दा उनी दोस्रोपटक जनताको रोजाइमा पर्न सकेनन्। यद्यपि, उनले शक्तिको दुरुप्रयोग गर्न नखोजेका होइनन्। तर, संयुक्त राज्य अमेरिकाको लोकतान्त्रिक प्रणालीलाई ट्रम्पले ओर्बनझैँ कमजोर बनाउन सकेका थिएनन्।
सन् २०१० मा जब भिक्टरले दोस्रोपटक प्रधानमन्त्रीमा जित हासिल गरे, त्यतिखेर हंगेरी विश्व प्रेस स्वतन्त्रता सूचांकमा २३औँ स्थानमा पथ्र्यो तर २०२२ मा पाँचौँपटक चुनाव जित्दा हंगेरी प्रेस स्वतन्त्रता सूचकमा ६२ स्थान खस्केर ८५औँमा झर्न पुग्यो। यस अवधिमा ‘फ्रिडम हाउस’ले हंगेरीलाई स्वतन्त्र मुलुकबाट आंशिक स्वतन्त्र मुलुकमा घटुवा गरेको छ। ‘भी डेम इन्डेक्स’ले २०२३ मा हंगेरीलाई इलेक्टोरल देशको श्रेणीमा ९६औं स्थानमा राखेको छ।
२०१० को आम निर्वाचनपश्चात् भिक्टर ओर्बनको फिडेज पार्टी ५३ प्रतिशत सिट जित्न सफल भयो। क्रिस्चियन डेमोक्रेटिक पिपल्स पार्टीसँग जोडिँदा गठबन्धनको ६८ प्रतिशत सिट हुन पुग्यो, जुन संविधान परिमार्जन गर्न चाहिने सर्वोच्च बहुमत थियो। पहिलो वर्ष नै फिडेज नेतृत्वको हंगेरियन सरकारले संविधानमा १२ वटा संशोधन गर्यो। तीमध्ये एक प्रमुख संशोधन भने नयाँ संविधान लेख्नका लागि नियम सेट गर्न चाहिने ८० प्रतिशतमाथिको संशोधन रह्यो। यस संशोधनपश्चात् नयाँ संविधान लेख्न भिक्टर ओर्बनको सरकारलाई कुनै बाधा रहेन।
नयाँ संविधान निर्माणमा पाइला चाल्नुअगाडि ओर्बनले न्यायाधीशहरूको संख्या बढाएर संवैधानिक अदालतलाई प्रभावकारी रूपमा असक्षम पार्नुपर्ने थियो र उनले त्यो गरे। संसदमा कुनै सान्दर्भिक छलफलबिना र विपक्षी दलहरूले अन्तिम मतदानमा भाग लिन अस्वीकार गरे पनि १ जनवरी २०१२ मा हंगेरीको नयाँ संविधान जारी गरियो। त्यसकारण पनि पपुलिज्मको अन्तिम बिन्दु नव फासिजम हो भन्ने पनि गरिन्छ।
अरू देशका केही उदाहरणहरूलाई विश्लेषण गर्दा पपुलिज्मका निम्न विशेषताहरू समान देखिन्छन्प पुलिस्ट आन्दोलन सामान्यतः करिस्म्याटिक लिडरको नेतृत्वमा अघि बढ्ने गरेको हुन्छ।उनीहरूले नीति, सिद्धान्त र विचार भनेको राजनीतिमा आवश्यक विषय होइन, राम्रो काम गर्नुपर्छ भन्ने भाष्य निर्माण गर्छन्।उनीहरूले सामान्य नागरिकका मुद्दा उठाएजस्तो गर्छन् र तिनी सम्भ्रान्त विरुद्ध हामी सामान्य नागरिकको भावना सृजना गरिदिन्छन्। यो मार्क्सको वर्ग संघर्षको सिद्धान्तभन्दा नित्तान्त फरक छ।
कठिनभन्दा कठिन समस्या पनि सजिलै चामत्कारिक रूपमा समाधान गर्न सकिन्छ भन्ने शैलीमा प्रस्तुत हुन्छन्।
स्थापित सरकार र व्यवस्थाविरुद्ध कडा रूपले प्रस्तुत हुन्छन्।भावनात्मक भाषाको प्रयोग गरी राय निर्माण गर्ने गर्छन्, जसलाई अंग्रेजीमा इमोसनल ब्ल्याकमेलिङ भनिन्छ।सत्ता प्राप्तिपश्चात् शक्ति केन्द्रीकृत गरी उग्र राष्ट्रवाद र धर्म संस्कृतिको बचावतिर ध्यान मोड्ने प्रयास गर्छन्।सत्तामा टिकिरहन पपुलिस्ट लिडरहरूले लोकतान्त्रिक प्रणालीलाई भत्काउने गरेका छन्।
त्यसो त पपुलिज्मका सबै पक्ष खराबै मात्र हुन् भन्दा अतिशयोक्ति हुन जान्छ। यसको सबल पक्ष भनेको यसले समाजमा विद्यमान रहेका तर स्थापित दलहरूले महत्त्व नदिएका विषयहरूलाई उजागर गर्दछ। स्थापित राजनीतिले ती जायज मुद्दाहरूलाई आफ्नो आन्दोलनको अंग बनाई समस्याको हल उचित समयमा खोज्न सहयोग पुर्याउँछ। यसकारण समाजका समस्याहरूले विकराल रूप लिनबाट रोक्न सकिन्छ।
पपुलिस्ट आन्दोलनले उठाउने मुद्दाहरूमा शक्तिको केन्द्रीकरणजस्ता अभ्यासमा रहेको लोकतन्त्रका नकारात्मक पक्षहरू हुन्। हुन त पपुलिस्ट अभियन्ताहरूले लोकतन्त्रमा सुधार होस् भन्ने हेतुले यस्ता विषय उठाएका हुँदैनन्। उनीहरूको अभिप्राय स्थापित लोकतन्त्रको विरुद्ध संघर्ष गर्ने समूह निर्माण गर्नु हो। तर, यसले अभ्यासका क्रममा लोकतन्त्रमा देखिएका कमी कमजोरीलाई सम्बोधन गर्न मद्दत पुर्याउँछ। पपुलिस्ट आन्दोलनले राजनीति र प्रशासनतन्त्र ९ब्युरोक्रेसी० लाई थप जवाफदेही बनाउन भूमिका खेल्छ।
यति भनिरहँदा लोकतन्त्रका लागि हानिकारक पपुलिज्मको उदयलाई समयमै नरोक्ने हो भने यसले नवफासिज्मसम्मको यात्रा तय गर्न सक्ने सम्भावना अधिक रहन्छ। सुरूमा त परम्परावादी या यथास्थितिवादी शक्तिहरूलाई प्रगतिशील शक्तिसँग लड्न गतिलो हतियार पाएको महसुस हुन सक्छ तर यो दीर्घकालीन हल भने होइन। त्यसकारण पपुलिज्मलाई कसरी परास्त गर्न सकिन्छ, त्यसबारे प्रगतिशील शक्तिहरू सचेत रहन जरुरी छ।
पपुलिस्टहरूले राय निर्माण गर्न र आफ्ना विपक्षीहरूलाई बदनाम गर्न गलत तथ्य या कन्स्पिरेसी थियरीको सहारा लिने गरेका हुन्छन्। उनीहरूले गर्ने झुटा र भ्रमपूर्ण प्रचार प्रसारलाई रोक्न तथ्य जाँच्ने टिम सक्रिय बनाउनु आवश्यक रहन्छ। तथ्य जाँचेर गलत र भ्रमपूर्ण रायहरूलाई तत्कालै परास्त गर्नुपर्छ।पपुलिस्टहरू सामान्यतः भावनात्मक अपिल र सनसनीपूर्ण बयानबाजीमार्फत समाजमा एक किसिमको विरोधको भावना सृजना गर्दछन्। भनिन्छ नि, मूर्खसँग धेरै विवाद नगर किनकि उसले पहिले तपाईँलाई आफ्नो स्तरमा गिराउँछ र त्यसपछि आफ्नो अनुभवले तपाईँलाई माथ दिन्छ। त्यसर्थ पपुलिस्टहरूले अपनाउने जस्तै रणनीति प्रगतिशील शक्तिहरूले अपनाउनुहुन्न। व्यक्तिगत प्रहारहरू भएका छन् भने पनि सोही तरिकाले प्रतिवाद गर्नुभन्दा तर्कसंगत सकारात्मक बहसतिर ध्यान केन्द्रित गर्नु उचित रहन्छ।
पपुलिस्टहरू कठिनभन्दा कठिन समस्या पनि सजिलै समाधान गर्न सकिन्छ भन्ने चामत्कारिक शैलीमा प्रस्तुत मात्र हुँदैनन्, उनीहरूले विरोधाभास हुने किसिमका वाचाहरू गरिरहेका हुन्छन्। त्यसैले तथ्य र उदाहरणहरूले उनीहरूका विरोधाभाषपूर्ण अभिव्यक्तिहरूलाई उजागर गर्न मद्दत पुर्याउँछ। यसले लोकप्रियतावादीहरूका कट्टर समर्थकहरूलाई खाासै फरक नपारे पनि नरम र अनिर्णित समूहबीच भने लोकप्रियतावादीहरूको समर्थनलाई कमजोर तुल्याउँछ।
उनीहरूले डर, क्रोध र आक्रोशका माध्यमबाट सामान्य नागरिकका मुद्दा उठाएजस्तो गरेर ‘तिनी’ ९सम्भ्रान्त० विरुद्ध ‘हामी’ ९सामान्य नागरिक०को भावना सृजना गर्दछन्। त्यसपछि आफूलाई जनताको हितको संरक्षक जसरी चित्रण गर्दछन्। प्रगतिशील शक्तिहरूले आफ्ना सामाजिक न्यायका नीतिहरू, आर्थिक सुधारका भिजनहरू र लोकतन्त्रप्रतिको निष्ठाजस्ता सकारात्मक पक्ष, जसले जनताको डरभन्दा पनि महत्त्वाकांक्षालाई सम्बोधन गरोस्, त्यस्ता विषयलाई उठान गर्नुपर्दछ।
पपुलिस्ट लिडरहरूले आफ्ना समर्थकहरू जुटाउन र उनीहरूसँग संवाद गर्न सामाजिक सञ्जाललगायत अन्य वैकल्पिक मिडिया प्लाटफर्महरूको व्यापक प्रयोग गरिरहेका हुन्छन्। उनीहरूले धेरै हदसम्म परम्परागत मिडियालाई बाइपास गरिरहेका हुन्छन्। प्रगतिशील शक्तिहरूले पनि परम्परागत मिडियाका साथै सामाजिक सञ्जालमा पनि बलियो उपस्थिति जनाउन अत्यावश्यक छ। यसका लागि सहजै बुझिने र सजिलै सेयर गर्न मिल्ने खालका कन्टेन्टहरू तयार गर्नुपर्ने हुन्छ।
पपुलिस्ट लिडरहरूले आफूलाई जनताको आवाजका रूपमा चित्रण गर्ने मात्र होइन, मूलधारका राजनीतिकर्मीहरूलाई जनताका मुद्दाबाट टाढिएका सम्भ्रान्त वर्गका रूपमा स्थापित गर्ने प्रयास गर्छन्। त्यसकारण स्थापित राजनीतिक शक्तिहरूले धेरैभन्दा धेरै जनतासँग जोडिन आवश्यक हुन आउँछ। जनतामा विकास भएका नयाँ चाहना र आवश्यकतालाई सम्बोधन गर्ने किसिमका संगठन निर्माण र कार्यक्रम सञ्चालन गरेर मूलधारका राजनीतिक दलहरूले गतिशीलताको सन्देश दिनु आवश्यक हुन्छ।
लोकतान्त्रिक व्यवस्था स्थापित हुन समय लाग्छ। किनकि, यो समाजका विविधता र गतिशीलतासँगै विकास हुँदै जाने कुरा हो। त्यसकारण लोकतन्त्रमा सिस्टम बस्न समय लाग्न सक्छ तर स्थापित सिस्टम भने दिगो हुने गरेको छ। यही लोकतान्त्रिक प्रणाली संस्थागत हुने क्रमकै बीचमा फासिस्ट, तानाशाही या पपुलिस्ट शक्तिहरूको उदय हुने गरेको विश्व इतिहास साक्षी छ।
दक्षिण एसियाकै सन्दर्भमा पाकिस्तान, अफगानिस्तान, बंगलादेशहरूमा तानाशाही र अतिवादी शक्तिको विकास भयो। नेपाली समाज अतिवादबाट टाढा रहने र सेना पनि लोकतान्त्रिक सरकारलाई समर्थन गर्ने भएकोले यहाँ अतिवादीभन्दा पनि पपुलिज्मको उदय देख्न सकिन्छ। लोकतान्त्रिक प्रणाली बलियो भएका देशहरूमा भने पपुलिज्मबाट उदय भएको नेतृत्व अतिवादतिर लम्केमा प्रणालीले नै तिनीहरूको शक्तिमा अंकुश लगाइदिने गर्दछ।अमेरिकामा डोनाल्ड ट्रम्पलाई शक्तिशाली हुन दिइएन। हाम्रै छिमेकी भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदी कट्टरपन्थतिरको यात्रामा रहेको आभास हुनेबित्तिकै त्यहाँका जनताले उनको शक्तिमा अंकुश लगाइदिए।
लोकतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनै सक्दैन। लोकतन्त्रका कमी कमजोरी नभएको होइन। तर विश्वव्यापीरूपमा प्रचलनमा रहेका व्यवस्थाहरूमध्ये लोकतन्त्र नै सबैभन्दा सुन्दर व्यवस्था हो। बरु यसकै गर्भमा पपुलिज्म पनि हुर्किरहेको हुन्छ, जसले आफैलाई ध्वस्त बनाउन सक्छ। त्यसकारण लोकतान्त्रिक प्रगतिशील शक्तिहरूले समयमै पपुलिज्मलाई परास्त गरेर लोकतन्त्रलाई अझ सुदृढ र संगठित गर्न अपरिहार्य छ।९लेखक नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख हुन्।
प्रतिक्रिया