अर्थ-वाणिज्य

मैथिली समाजको जितिया रौनक




बुटवल ५ असोज । विभिन्न पेसा व्यवसाय गरेर बस्ने रुपन्देहीमा रहेका मैथिली समाजका व्यक्तिहरले शनिबार तिलोत्तमामा सामुहिक रुपमा जीतिया पर्व मनाएका छन् । मैथिल समाज नेपाल रुपन्देहीको आयोजनामा पर्व मनाइएको हो । जीतिया पर्व मैथिल समाजका लागि एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो जुन विशेष गरी नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा धूमधामले मनाइन्छ । जीतिया पावैन मिलन समारोह २०८१ को तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले उद्घाटन गर्दै नेपालको मिथिला क्षेत्रमा यो पर्वले ठूलो सांस्कृतिक महत्त्व राख्ने बताईन । सम्पूर्ण समाजलाई सन्तानप्रतिको मातृस्नेह र धार्मिक आस्थाको बलियो रूपमा जोड्ने काम यो पर्वबाट गरेको उनले बताइन् ।
कार्यक्रममा मैथिल समाज नेपाल रुपन्देहीका अध्यक्ष उदय कुमार सिंहले सन्तानको दीर्घायु, सुख, समृद्धि र कल्याणको लागि यो पर्व मनाईने बताए । घरमा आमाहरु व्रत बस्ने र आफ्नो सन्तानको राम्रो स्वास्थ्य तथा जीवनको कामना गर्ने उनले बताए । पर्वबारे प्रकाश पार्दै उनले जीउतवाहन भगवान (गरुडका रूप) को पूजा गरिन्छ । गरुडले आफ्नो भक्तलाई विपत्तिबाट रक्षा गर्ने विश्वास छ, र यसै कारणले गर्दा यो पर्वलाई “जीतिया“ भनिएको उनले बताए।सामूहिक रूपमा महिलाहरू व्रत बस्ने, पूजा–अर्चना गर्ने प्रचलन रहेको छ । यसले सामाजिक एकता र आपसी मेलमिलापलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ ।
व्रतको समापनमा महिलाहरू पूजा गरेर प्रसाद ग्रहण गर्छन्। व्रत तोड्दा परम्परागत मैथिली परिकारहरू खाइन्छ, जसले धार्मिक र सांस्कृतिक महत्त्वलाई अझ बढी प्रकट गर्छ । रुपन्देहीमा छरिएर रहेका मैथिल समुदायलाई संस्थागत गरि १८ वर्ष स्थापना गरेर भाषासंस्कृति र सामाजिक कार्य गर्दै आएको उनले बताए ।कार्यक्रममा भैरहवा मैथिल समाजका अध्यक्ष अमरकान्त झाले सबै जातजातीहरुको समाजको महत्व रहेको भन्दै जीतिया पर्वको महत्वलाई प्रकाश पारे ।

कार्यक्रममा भैरहवा भिम अस्पतालका मेसु डा. शकुन्तला गुप्ता, समाजका सल्लाहकार तथा बटवल नगरपालिका बार्ड न. ३ का वार्ड सदस्य हरीनारायण मिश्राले नेपाल सबै धर्म, संस्कृतिमा धनि देश भएको भन्दै समुदायबाट उदाहरणीय काम भएको बताए ।
कार्यक्रममा नेपाल तराई विद्यार्थी ग्रुपबाट मैथिल नृत्य, गायन समेत प्रस्तुत गरिएको समाजका सचिव मनोज कुमार मण्डलले बताए । हाल रुपन्देहीमा विभिन्न पेशा ब्यवसायमा आवद्द्ध मैथिल समुदायका ५ सय घरपरिवार रहेका छन् ।

प्रकाशित : ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६