कपिलवस्तु, ०६ असोज ।
झण्डै १० महिनायताको रनिङ बिलबापत पाउनुपर्ने ५० करोड भुक्तानी रोकिएपछि निर्माण व्यवसायीहरूले लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिएका छन् ।
कोषअन्तर्गतका विभिन्न परियोजनाका ठेकेदारहरूले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् ।
‘लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा निर्माण कार्य गरिरहेका निर्माण व्यवसायीहरूले विगत १० महिनादेखि पेश भएको रनिङ बिलको भुक्तानी नपाएको हुँदा यो धर्ना कार्यक्रम गरिरहेका छौं,’ धर्नास्थलमा टाँगिएको ब्यानरमा भनिएको छ ।
यसअघि शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीहरूलाई अविलम्ब भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।
‘भुक्तानीमा भइरहेको ढिलाइले परियोजनाहरूको प्रगतिमा गम्भीर असर पुर्याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि भुक्तानी प्रक्रिया छिटो अगाडि नबढाइएमा निर्माण व्यवसायीहरूले अझ कडा कदम चाल्न बाध्य हुनेछन् । यसबाट सिर्जना हुने सम्पूर्ण जिम्मेवारी लुम्बिनी विकास कोषले लिनुपर्नेछ ।’
यथाशीघ्र भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले शुक्रबारदेखि सम्पूर्ण निर्माण कार्य रोकिसकेका छन् । अझै २ दिनसम्म भुक्तानी नभएमा कोषको कार्यालयमै तालाबन्दी गर्ने निर्माण व्यवसायीहरूको चेतावनी छ ।
यस राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतका विभिन्न परियोजनामा लुम्बिनी-एनके- खड्का कृष्ण जेभी, लामा-एपेक्स-कमलजित जेभी, रमन,गजुरमुखी-रामजानकी जेभी र खानी,अर्घाखाँची- बबुल जेभी कार्यरत छन् ।
प्रतिक्रिया