अर्थ-वाणिज्य

लुम्बिनीमा अनुकरणीय काम : किसानकै घरआँगनमा मूल्य तोक्न पालिकाको मध्यस्थता



रुपन्देही १७ असोज । गुल्मी र अर्घाखाँचीका केही गाउँपालिकाले स्थानीय कृषि उपजको बजार सुनिश्चित गर्दै किसानकै घरआँगनमा मूल्य तोक्न थालेका छन् । जसले गर्दा किसानहरुले उत्पादित वस्तु बजार लैजाने झन्झटबाट मुक्ति पाएका छन् ।

ती गाउँपालिकाहरुले मूल्य निर्धारण गरेर घरखेतबाटै कृषि उपज उठाउन थालेपछि किसानहरु हौसिएका छन् । गाउँ र जिल्ला सदरमुकाममा समेत किसानका उत्पादनले मूल्य र बजार नपाएर खेतबारीमै कुहिएको समाचार आइरहेको बेला गुल्मी र अर्घाखाँचीका गाउँपालिकाका नमुना अभ्यासले धेरैलाई राहत भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिकाले यस अभ्यासलाई व्यवहारिक रुपमै प्रयोगमा ल्याएपछि अहिले गाउँमा उत्पादित कुनै पनि वस्तु खेर गएको छैन । पालिकाले किसानको घरमै पुगेर उत्पादित वस्तु संकलन गर्ने र पूर्वनिर्धारित मूल्य किसानलाई बुझाउने नमुना अभ्यास अगाडि बढाएपछि यी पालिकाका जनप्रतिनिधिले स्याबासी पाउन थालेका छन् । गाउँपालिकाको यस कार्यले यहाँका किसानको जिन्दगी फेरिन थालेको छ ।ग्रामीण क्षेत्रमा रहेका किसानको जग्गामा उत्पादन हुने सबै प्रकारका कृषि उपजको बजार ग्यारेन्टी गरेसँगै यो क्षेत्रमा लागेर निराश किसानहरु उत्साहित बनेको धुर्कोट गाउँपालिका वडा नं १ भाखर्कका किसान अशोक खड्का बताउँछन् । बजार ग्यारेन्टी भएपछि अहिले त्यहाँका किसानहरु बारीमा मात्रै होइन गाउँका कान्लामा जंगलमा हुने भ्याकुर, तरुल, भुटुक, खन्यूलगायत सबै प्रकारका कृषि उपजहरु तयारी अवस्थामा राखेर बस्न थालेको उनको भनाइ छ ।
बढी मूल्य पाए बाहिर पनि बेच्न पाइन्छ, तर उत्पादन भएका सबै कृषि उपजको बजार ग्यारेन्टी भएपछि यहाँ खाली रहेका जग्गामा पनि खेती लगाउन थालिएको छ, यो हामी गाउँमा बसेर उत्पादनमा लागेकालाई निकै खुसीको कुरा हो’, उनले भने, ‘पालिकाले बीउको पनि रकम दिएको छ । उत्पादनका लागि अन्य प्राविधिक सहयोग पनि गरेको छ, अहिले बजारका लागि पनि ग्यारेन्टी गरेपछि धेरै सहज भयो ।’

सोही पालिकाको वडा नं ७ की किसान भगवता खनालले बजारको ग्यारेन्टीले किसानको धेरै समस्या समाधान भएको बताइन् ।घरकै ताग्ला ताग्लामा किसानका सामान लिन गाडी आउने भएपछि आफूहरुको ध्यान उत्पादनमा लगाउन पाएको उनको भनाइ छ ।‘गाउँपालिकामा लगेपछि किसान र गृहिणीले उत्पादन गरेका वस्तु संस्थाले किनिदिने निर्णय गरेपछि हामी खुसी छौं । काम गर्न बेग्लै ऊर्जा आउने रहेछ’, उनले भनिन्, ‘हामीले आफूले गर्दै आएका कामको पैसा मिल्छ भन्ने थाहा पाएपछि कामप्रतिको सोचाइ नै फेरिएको छ ।’

व्यवसायिक रूपमै तरकारी खेती गर्दै आएका धुर्कोट( ५ वस्तुका टेकराज कुँवरले उत्पादित वस्तु खरिद गरिदिने निर्णयले आफूहरूमा खुसी थपिदिएको बताए । आफूले उत्पादन गरेको कर्कलो र मासको दालको तितौरा, मुलाको गुन्द्रुक, सिन्की र सुकाएको चाना, बेसारको सुकेको चना, कोदो, मकै, भटमास, गहत र बोडी तोकिएको मूल्यमा गाउँपालिकाले किनिदिने भएपछि आफूहरू निकै खुसी भएको उनले सुनाए ।

आफूले गुजारा टार्न बनाउने गरेका सामानको भाउ होला भनेर कहिल्यै नसोचेका किसान यसरी मूल्य पाउँदा उत्साहित भएको उनी बताउँछन् ।पालिकाको यो अभियानले आफूहरुलाई निकै खुसी बनाएको वडा नं ७ वाग्लाका किसान तीर्थराज पन्थी बताउँछन् । व्यापारीले सबै वस्तु उठाउने र पालिकाले रकमको ग्यारेन्टी गरेसँगै आफूहरुलाई धेरै सहज भएको पन्थीले बताए ।

स्थानीयस्तरमा उत्पादित कृषि उपजहरुलाई यहाँ राम्रोसँग प्रयोगमा नल्याउने तथा केही उपजहरु सडेर जाने गरेको अवस्थामा पालिकाले आफ्नै गाडी र कर्मचारी व्यवस्था गरेर बुटवलस्थित पहाडी ताजा तरकारी पसललाई दिने सम्झौता गरेको छ ।

गाउँपालिकाभित्रका किसान, कृषि समूह, कृषि फर्महरुबाट उत्पादित कृषि उपजहरु धुर्कोट गाउँपालिकामा रहेको कृषि विकास शाखाले समन्वय गरी यसका लागि कर्मचारीसमेत तोकेको पालिकाका कृषि शाखा प्रमुख दिलीप न्यौपाने बताउँछन् ।किसानलाई व्यवसायिक उत्पादनतर्फ प्रेरित गर्ने, नियमित उत्पादनमा लगाउने र खाली रहेका जग्गामा आवश्यक खेती लगाउने अभियानका लागि यो कार्यक्रम थालिएको हो, किसानले उत्पादन गरेमात्रै भयो, खरिदकर्ताले बजार हेरेर मूल्य तय गरेर हामीलाई पठाउँछन् । हामीले किसानलाई पठाउने व्यवस्था गरेका छौं, त्यो मूल्यमा दिन चाहने किसानको सबै वस्तु हामीले सम्झौता गरेका व्यवसायीले लैजान्छन् र त्योअनुसारको रकम १ महिनामा उपलब्ध गराउँछन्’, उनले भने ।

ग्रामीण भेगका किसानहरुले उत्पादन गरे पनि बजार नपाएका सामग्रीहरुलाई खरिद गरी किसानहरुलाई हौसलासँगै कृषि कर्म गरेको सुखद अनुभूति दिन यसो गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल बताउँछन् ।

धुर्कोट गाउँपालिका र बुटबलको देवीनगरस्थित पहाडी ताजा तरकारी पसलबीच उक्त समझदारी भएको उनले बताए । बजारको ग्यारेन्टी भएसँगै बाँदर लाग्ने ठाउँमा बेसार र अदुवा अनि खुर्सानीलगायतका उपजहरु लगाउन थालिएको छ ।यसरी बजारको ग्यारेन्टी भएपछि महिला समूहबाट निर्मित तितौरा, सिन्की, मुलाको सुकाएका चाना, बेसारका सुकाएका चाना, कोदो, सोस्ता ९बोढी०, ग्रेडिङ गरेको मकै, खैरो भट्ट, सेतो भट्ट, खैरो गहतलगायतका वस्तुहरुको उत्पादन बढ्दै गएको छ । यो अभियानले गाउँमा सिजनमा धेरै उत्पादन हुने काँक्रा, फर्सी, स्कुसलगायतका वस्तुहरु बेचेर किसानहरु खुसी भएका छन् ।

गाउँपालिकाका अनुसार जनप्रतिनिधिसँग यहाँका किसानको गुनासो सधैं आफ्ना कृषि उत्पादनले बजार पाएनन् भन्ने हुन्थ्यो, तर अब त्यो सुन्नुपर्ने छैन । गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल गाउँलाई यहीका उत्पादनमा निर्भर गराउन सके गाउँको मुहार फेरिने अपेक्षा राखेको बताउँछन् । किसानबाट खरिद गरेको कृषि उत्पादन बिक्रीका लागि गाउँपालिकाले पहाडी ताजा तरकारीसँग सम्झौता गरेको र हरेक महिनाको ७ गते सहकारीबाट किसानले भुक्तानी पाउने ग्यारेन्टी भएको पोखरेलले बताए ।
‘पहाडबाट तराईमा बसाइ सरेर गएकाहरू पनि बाल्यकालदेखि नै खाँदै आएका स्वादहरू बिर्सन सकेका छैनन्, गाउँपालिकाले गाउँको उत्पादनमार्फत गाउँ र शहरलाई जोड्दै गाउँका किसानको आम्दानीको स्रोत खोज्न सकिन्छ भन्ने मलाई लागेको थियो’, अध्यक्ष पोखरेलले भने ।

अध्यक्ष पोखरेलले बजारीकरणको ग्यारेन्टी गरेर कृषि उपज बिक्री हुने नहुने वा मूल्यका लागि बिचौलियामा भरपर्ने स्थिति हटाउन गाउँपालिका आफैंले यो कदम चालेको बताए ।गाउँका किसानले सस्तोमा बिक्री गरेको उत्पादन उपभोक्ताको भान्सामा पुग्दा चारपाँच गुणासम्म मूल्य बढेर पुग्ने गर्छ, मरिमेटेर उत्पादन गरे पनि त्यसको पर्याप्त लाभ न किसानले लिन पाएको छ न त उपभोक्ताले सस्तोमा उपभोग गर्न पाएका छन्’, उनले भने, ‘मूल्यसूचीसमेत सार्वजनिक गरी गाउँपालिकाले किसान र उपभोक्ता दुवैलाई ठगिनबाट जोगाउन खोजेको हो ।’

यतिमात्र होइन गाउँपालिकाले एउटा पिकअप जीप खरिद गरेको छ । यो जीपले किसानका सामग्री बोकेर बुटवल पु¥याउने गरेको छ । गाउँपालिकाको निर्णयले यहाँका गृहिणी र किसान महिलाहरू खुसी भएको उनको भनाइ छ ।

‘पहिले खेती नगर्ने कतिपयले खेती थालेका छन्, थोरै गर्नेले बढाएका छन् । ती महिलाहरू आर्थिक रूपमा सवल भए भने अरू महिलालाई पनि व्यवसायिक कृषिमा लाग्न प्रेरणा मिल्ला भन्ने हाम्रो आशा छ’, उनले भने, ‘आफूले वर्षौंदेखि गरेको कामको मूल्य हुने देखेपछि महिलाहरू खुसी भएका छन् । हामीले यो निर्णयको सकारात्मक प्रतिक्रिया नै पाएका छौं ।’यसअघि पनि गाउँपालिकाले बाँझो जमिनमा खेती गरेर स्वरोजगार बन्न चाहने युवा तथा कृषकहरूलाई अनुदान उपलब्ध गराएको थियो ।

यो अभियान अहिले गुल्मीमा रुरुक्षेत्र, छत्रकोट गाउँपालिका, अर्घाखाँचीको छत्रदेव, मालारानी गाउँपालिकाले सुरु गरे पनि धुर्कोटको जस्तो व्यवस्थित बनाउन सकेका छैनन् । धुर्कोट र छत्रदेवले किसानको उत्पादनको बजारीकरणका लागि बुटबलको देवीनगरस्थित पहाडी ताजा तरकारी पसलसँग र रुरुक्षेत्रले पाल्पाको मिलनसार सामाजिक उद्यमी महिला सहकारीद्वारा सञ्चालित तरकारी थोक बजारसँग सम्झौता गरेको छ ।

पालिकाले किसानको उत्पादन खरिद गर्ने र सोही मूल्यमै पसललाई बिक्री गर्ने गरेका छन् । त्यसका लागि कर्मचारी र ढुवानी खर्च पालिकाले व्यहोर्ने सहमति रहेको छ । पालिकाले किसानसँग तामा, करेला, बोडी सोस्ता, स्कुस, कागती, फर्सीको मुन्टा, चिचिन्ना, नास्पाती, पुदिना, सिन्की, काँक्रोलगायतका तरकारी तथा फलफूलको बजारीकरण गरिरहेका छन् ।

किसानका कृषिजन्य सामग्री खरिद गर्न पालिकाले प्रत्येक हप्ताको दुई पटक तरकारी भएको टोलमा सवारीसाधन पठाउने गर्दछ । धुर्कोटमा आइतबार र बिहीबार तथा रुरुक्षेत्रमा मङ्गलबार र शनिबार किसानको तरकारी संङ्कलन हुँदै आएको छ ।

प्रकाशित : १७ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६