प्रदेश

सुपा देउराली भिरको बाटो चौडा गरी सडक विस्तार



अर्घाखाँची, ०२ कार्तिक। देशकै महत्त्वपूर्ण शक्ति पीठका रूपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकले सुरक्षित महसुस गर्नेछन् ।

गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि ‘रक एन्चोज’ प्रयोग गरेर ‘ड्रिल’ गरेर ‘आरसिसी’ ढलान गरी सडक विस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो । “लाहुरे बजारदेखि सुपा मन्दिरसम्मको सडकको चौडाइ मुस्किलले साढे चार मिटर हुँदा यातायात आवागमनमा निकै कठिनाइ रहेको थियो”, इन्जिनियर पाण्डेले भन्नुभयो, “हाल सडक डिभिजन शिवपुरबाट सडक स्तरोन्नति भई करिब नौ मिटर चौडाइ बनाइएको छ ।”

जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्त्वपूर्ण गोरुसिङ्गे–सन्धिखर्क सडकको लाहुरे बजारदेखि सुपा मन्दिरसम्म करिब तीन सय मिटर खण्ड कडा चट्टान र भिरालोका कारण साँघुरो भई यातायात आवागमनमा निकै कठिनाइ बेहोर्नु परेको अवस्था थियो । सडक डिभिजन कार्यालयबाट रक एन्चोर्जसहित पर्खाल निर्माणको काम सम्पन्न भएको हो । गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्क सम्म सडकको दूरी ६८ किलोमिटर छ ।

सडक विस्तारसँगै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको सिमानामा रहेको सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो । सुपा देउराली नजिकै रहेको नरपानीको डाँडाबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरू देख्न पाइने हुँदा गर्मी याममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् भने भारतको उत्तर प्रदेश, विहारबाट समेत आउने धार्मिक पर्यटकहरुको सङ्ख्या ठूलो रहेको सचिव खनालको भनाइ छ । यहाँ आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रमा लैजाने कार्ययोजना नगरपालिकाले बनाएर काम अगाडि बढाएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने जनविश्वास रहेको पाइन्छ । यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६