प्रदेश

८५ हजार किलो गुणस्तरहीन चामल भारत फिर्ता



बाँके, ०३ कार्तिक ।
नेपालगन्ज भन्सारले भारतबाट ल्याइएको ८५ हजार किलो चामल गुणस्तरहीन रहेको पाइएपछि भारतमै फिर्ता पठाइदिएको छ । नेपालगन्जका व्यापारीले व्यापार प्रयोजनका लागि ल्याएको उक्त चामलको गुणस्तर परीक्षणका क्रममा गुणस्तर मापदण्डअनुसारको नरहेको पाइएपछि असोज ३० गते भारतमै फिर्ता पठाइएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट मगाएको ८५ हजार किलो चामल मापदण्डअनुसार नभएकाले उतै फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत जनाएको छ ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बुधबार जारी गरेको प्रेस नोटअनुसार नेपालगन्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्यधिक भेटिएको थियो । नेपाल सरकारले चामल आयातका लागि तोकेको अनिवार्य मापदण्डबमोजिम न्यूनस्तर पाइएकाले निर्यात गर्ने देशमै फिर्ता गरेको विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
भन्सार गर्नुअघि खाद्यवस्तुको गुणस्तर चेकजाँचका लागि खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयमा नमुना पठाउने गरिन्छ । उक्त नमुनाको चेकजाँच गर्दा तोकिएको मापदण्ड अनुसारको गुणस्तर रहेको नपाइएमा खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयले आयात गर्न नमिल्ने भनेर प्रतिवेदन पठाउने कार्यविधि छ ।

सोही कार्यविधि अनुसार चामलको नमुनामा बिग्रेका चामलका दानाहरू तोकिएको मापदण्डभन्दा बढी रहेको पाइएपछि आफूहरूले आयात गर्न दिन नमिल्ने भनेर दसैँअघि सिफारिस गरेको खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जका प्रमुख सन्तोष दाहालले जानकारी दिए । उनले भने, ‘उक्त चामलमा ताप र चिस्यानले बिग्रेका दानाहरू तोकिएको मापदण्डभन्दा बढी थिए । त्यसो भएको हुनाले हामीले आयात गर्न नमिल्ने भनेर प्रतिवेदन दिएका थियौँ ।’

दाहालले यसरी मापदण्ड अनुसारको गुणस्तर नभएका खाद्यवस्तुलाई यसअघि पनि रोकिएको बताए । केही महिनाअघि मासको दालमा बाह्य रङ हालिएको भेटेर आयात गर्न नदिएको र राजमा दाल कुहिएको अवस्थामा रहेको पाइएपछि पनि फिर्ता गरिएको जानकारी दिए ।


‘यो नियमित प्रक्रिया हो । हामीले नमुना परीक्षणमा मापदण्डअनुसार नभएमा आयात गर्न नदिनु भनेर प्रतिवेदन दिन्छौँ । सोहीअनुसार भन्सारले आवश्यक काम गर्छ,’ उनले भने ।

प्रकाशित : ३ कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६