अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउदै : को को थपिदै छन ?



रुपन्देही ४ असोज । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । १२ सदस्यीय मन्त्रीमण्डलमा अहिले एमालेका ५ र कांग्रेसका ३ मन्त्री मात्रै रहेका छन् ।साउन ७ गते मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता आचार्यले आजै सत्ता साझेदार नेपाली कांग्रेससँगको समन्वयमा सरकारलाई पूर्णता दिने तयारी गरेको स्रोतले जनाएको छ् । एमाले कांग्रेसका भागवण्डाअनुसार एमालेलाई मुख्यमन्त्रीसहित ५ र कांग्रेसलाई ५ मन्त्री दिने समझदारी रहेको थियो । बाँकी दुई मन्त्रालय साना दललाई दिने पूर्वसहमति थियो ।

मुख्यमन्त्री आचार्यलाई नेपाली कांग्रेसले बैजनाथ कलबार र जन्मजय तिमिलसिनालाई मन्त्री बनाउनेगरी अगाडि बढ्न सुझाएको कांग्रेसबाट सरकारमा सहभागी एक मन्त्रीले बताए । उनका अनुसार कलबारको निश्चितजस्तै भएपनि तिमिलसिनाको विषयमा अझै टुंगो लागेको छैन । उनी साउन ९ गते नै मन्त्रीको शपथको तायरीमा हटाइएका सांसद हुन् ।
नाउपाबाट राजकुमार चौधरी र जसपाबाट आदेश अग्रवाल मन्त्री बन्ने टुंगो लागेको छ तर नाउपामा राजकुमार रेशम चौधरी पक्षधर भएको र ४ मध्ये ३ सांसद अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर रहेकी अर्का सांसद नरमाया ढकाललाई मन्त्री बनाउने लाइनमा भएकाले ढिलाई भएको हो । राजकुमारले युवा तथा खेलकुद मन्त्रालय पाउने नाउपा संसदीय दलका नेता धर्म चौधरीले बताए ।मुख्यमन्त्री आचार्यले आइतबार साँझ नै सबै मन्त्रीको कार्यविभाजन टुंगो लगाउनसक्ने स्रोतले जनाएको छ । त्यसो भए सोमबार नै शपथ हुनसक्नेछ ।

दसैंअघि नै यो नाम टुंगो लागेपनि कांग्रेस र नाउपाको विवादले पछि धकेलिएको हो । भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिन आजै कार्यविभाजनसहितको नाम टुंगो लगाउनसक्ने बताए ।

कांग्रेसभित्र मन्त्री छान्ने विषयमा विवाद हुँदा सरकार गठन भएको करिब तीन महिना पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । अहिले मन्त्री बनेका धनेन्द्र कार्की र सरोज थापा देउवा पक्षका हुन् भने प्रचण्ड विक्रम न्यौपाने कोइराला पक्षका हुन् ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्ष १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन् ।मन्त्रिपरिषदले पूर्णता नपाउँदा मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका थिए ।

साउन ७ मा मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएका थिए । साउन ९ मा उनले एमालेबाट ४ र कांग्रेसबाट ४ मन्त्री नियुक्त गरेका थिए । तर, नेपाली कांग्रेसको तर्फबाट वन तथा वातावरण मन्त्रीमा नियुक्त बादशाह कुर्मीले राजीनामा दिएपछि सरकारमा अहिले कांग्रेसका ३ मन्त्रीमात्र छन् ।बाँके ३ को २ बाट निर्वाचित कुर्मी बाँकेकी निर्मला कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित हुन् । चौतर्फी दबाब र विरोधपछि उनले गत भदौ २५ मा पदबाट राजीनामा दिएका थिए ।

लुम्बिनी प्रदेशमा एमाले र नेपाली कांग्रेसका मन्त्रीहरूलाई एकै पटक शपथ ग्रहण गराउने योजना भए पनि अन्तिम समय आन्तरिक विवादले गर्दा कांग्रेसको कोटाबाट एक मन्त्री नियुक्त हुन सकेका थिएनन् । शपथ ग्रहणको अन्तिम तयारी भइरहँदा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनालाई मन्त्री बन्नबाट रोकिएको थियो ।

त्यही बेला नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले मन्त्री छनोट गर्दा एकलौटी निर्णय गरेको भन्दै पार्टी नेतृत्वको चर्को विरोध गरे । यता शपथ ग्रहण गर्ने बेला आफूलाई रोकिएपछि रिसाएका जन्मजय तिमिल्सिनाले पनि प्रमुख सचेतक पदबाट राजीनामा दिएर बसेका छन् यस्तै महिलाको प्रतिनिधित्व नभएको भन्दै सचेतक निमा गिरीले पनि राजीनामा दिएकी छन् । प्रमुख सचेतक पदमा हालै रुपन्देहीकी जमुना ढकाललाई नियुक्त गरिएको छ । शेरबहादुर देउवा पक्ष र शेखर कोइराला पक्षको रूपमा चिनिएका सांसदहरू मन्त्री बन्न आ–आफ्नो गुट समात्दै अगाडि बढेका छन् ।भागवण्डा मिलाउन यसरी गरियो मन्त्रालय हेरफेर, महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालय हटाइयो

प्रदेश सरकारले सरकारमा सहभागी दलको भागवण्डा मिलाउन मन्त्रालय हेरफेर गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसूची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरिएको सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी अन्तरगत सरकारले कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरेको जनाइएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको राजश्व बढाउने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ । बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महशुद खाँलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर लुम्बिनी प्रदेशमा आएका डा। रामेश्वर देवकोटालाई पाल्पा अस्पतालमा कामकाजका लागि खटाउने निर्णय गरेको छ ।

प्रकाशित : ४ कार्तिक २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६