अर्थ-वाणिज्य

सुप्रिम सहकारी ठगीको अनुसन्धान गर्न रविलाई बुटवल ल्याउने



कपिलवस्तु ४ असोज ।सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलमा पनि मुद्दा चलाइने भएको छ। सूर्यदर्शन सहकारी ठगीमा पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिने प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।
उहाँजस्तै सहकारीको रकम अपचलनमा संलग्न गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीलाई बुटवल लगिएको छ। उहाँलाई चाहिँ नलैजाने भन्ने कुरै हुँदैन। पोखरामा अनुसन्धान सकिएपछि बुटवल लैजानुपर्ने हुन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘बुटवलमा पनि रवि र छविसहित संलग्नहरुको पूरक अभियोग जान्छ।’
यसअघि रवि लामिछाने गृहमन्त्री हुुँदै बुटवलको सुप्रिम सहकारी ठगीमा अभियोग दायर भएको थियो। अभियोग पत्रमै लामिछानेका नाममा पनि सहकारीको रकम गएको उल्लेख थियो। ठाउँठाउँमा लामिछानेको संलग्नता खुल्ने उल्लेख भए पनि उनीसँग सामान्य सोधपुछ समेत गरेको थिएन।
तर अहिले पूर्वडीआईजी समेत रहेका छविलाल जोशीलाई लगेर दोस्रो चरणको अनुसन्धान इलाका प्रहरी कार्यालmय बुटवलले अगाडि बढाएको हो। सूर्यदर्शन सहकारी ठगीको आरोपमा यसअघि जोशीलाई पनि प्रतिवादी बनाइएको थिएन। तर सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन भएको निष्कर्ष निकाल्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।

समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो। उक्त प्रतिवेदन गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयलाई पठाइएको थियो। प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्लाका प्रहरीलाई प्रतिवेदन पठाउन अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा सहयोग गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०बाट अनुसन्धान अधिकारीहरु खटाइएको छ। यसअघि यी सहकारीका विवरण रहेका सफ्टवेयरको अनुसन्धानमा पनि सीआईबीले सहयोग गरेको थियो। तर त्यसपछि लामिछाने नै गृहमन्त्री भएसँगै प्रहरीले अनुसन्धान रोकेको थियो। उनी गृहमन्त्रीबाट हटेलगत्तै पोखरामा अनुसन्धान फेरि अघि बढाइएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको सहयोगमा छवि र रविलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि अन्य जिल्लाले पनि अनुसन्धान थालेका हुन्।

पोखरामा तत्कालै मुद्दा दायर भएको जिल्ला अदालत कास्कीबाट पुर्पक्षका लागि थुनाबाहिर जाने भएमा बुटवल लगिने सम्भावना छ। रविको बयान लगायत अनुसन्धान सकिएपछि पनि तत्कालै मुद्दा दायर नहुने भएमा भने इलाका प्रहरी कार्यालय बुटवलले बीचमै रविलाई झिकाएर बयान लगायतका अनुसन्धान गर्न सक्नेछ।

यस्तो छ सुप्रिममा रविमाथिको आरोप
बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ। १ हजा ८२८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथि छ। बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको यसअघिकै अभियोग पत्रमा उल्लेख छ।

उक्त अभियोग पत्रमा पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन। तर, उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको अभियोग पत्रमा उल्लेख छ।सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीहरूका सञ्चालक समितिहरूको नाम र विवरण पनि राखिएको छ। यसमा पनि रवि लामिछानेको नाम उल्लेख छ। जुन मिसिल अहिले पनि अदालतमै छ। यसअघि मुद्दा दायर गर्दा लामिछानेसँग प्रहरीले सामान्य सोधपुछ गरेर कागज समेत गरेको थिएन।

गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्येमा रवि लामिछानेको पनि नाम मिसिलमा खुलाइएको थियो। पछि संसदीय छानबिन समितिले पनि उनको संलग्नता रहेको पुष्टि ग¥यो। यसरी रकम अपचलन गर्ने कम्पनीमा रवि लामिछानेको एक लाख ८० हजार कित्ता सेयर रहेको देखिएको छ। यो सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ कायम गरिएको छ। २०७८ पुस ७ गते गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर उनको नाममा कायम भएको थियो।

यस्तै रवि लामिछानेरगोर्खा मिडिया नेटवर्क प्रालि खाता नम्बर ००१–००१–१०५–००००२२४ मा २ करोड रुपैयाँ निकासा भएको देखिएको छ।
मिसिलमा भनिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ।’

सोही विषयमा सोधपुछ गर्नका लागि इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई पनि झिकाउने भएको हो। लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। शुक्रबार नै काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएका लामिछानेको औपचारिक बयान अझै सुरु भएको छैन। आइतबार म्याद थपका लागि अदालत लैजाँदै बेलुका भएको थियो।

सोमबार उनीसँग सम्बन्धित कागजात प्रमाणीकरण गर्न विभिन्न कार्यालयलाई पत्राचार गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘औपचारिक बयान सुरु भएको छैन। उहाँसँग सम्बन्धित कागजात भेरिफाइ गर्ने काम भयो, अनि विभिन्न कार्यालयलाई पत्राचार गर्ने काम भएको छ। मंगलबारदेखि बयान सुरु हुन्छ होला।’

चितवनको सहारामा पनि अनुसन्धान गरिने
सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको र थप अनुसन्धान गर्नु पर्ने यसअघिकै अभियोग पत्रमा उल्लेख छ।

चितवनको भरतपुर महानगरपलिका ३ स्थित केन्द्रीय कार्यालय रहेको सहारा चितवन बहुउदेश्यीय सहकारी संस्थाको बचत अपचलनमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध पहिलो चरणमा मुद्दा दायर भएको छ।

४४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा मुद्दा दर्ता भए पनि अनुसन्धानका क्रममा केही कारोबारको विवरण भने प्रहरीले सम्बन्धित निकायबाटै पाउन नसकेको अभियोग पत्रमा उल्लेख छ।

सहकारीको रकम अपचलन गरेर जम्मा गरिएका केही खाताको विवरण राष्ट्र बैंक र अन्य केही बैंकले नै प्रहरीलाई उपलब्ध नगराएको जनाइएको छ। सहकारीबाट विभिन्न कम्पनीहरुमा समयसमयमा रकम गएको देखिएको र यसरी खुलेका कम्पनी तथा प्रालिहरुको समेत बैंक खाताको बैंक स्टेटमेन्ट माग गरिएको थियो। बैंक स्टेटमेन्टको एक्सेल सिट सफ्ट कपीको विवरण नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागमा माग गरिएको थियो।

‘सहारा चितवन बहुउदेश्यीय सहकारी संस्था लिमिटेडबाट गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार के, कसरी, को–को सँग भएको हो, सो को विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरुको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायतका बारेमा थप अनुसन्धान गर्नु पर्ने देखिन आयो,’ अभियोग पत्रमा भनिएको छ।

मुद्दाको हदम्याद समेत विचार गरेर अहिलेकै अवस्थामा उल्लिखित कम्पनी र पदाधिकारीहरुका सम्बन्धमा निर्णयमा पुग्न नसकिने देखिएको हुँदा थप अनुसन्धान गर्नु पर्ने देखिएकाले पुनः अनुसन्धान गरी पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने पनि सरकारी वकिल कार्यालयले अभियोग पत्रमा उल्लेख गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले पहिलो चरणको मुद्दामा भने जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिसकेको छ। यो सहकारीको पनि जीबी राई संस्थापक अध्यक्ष हुन्। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका ४४६ बचतकर्ताको साढे ३७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप उनीहरुमाथि लगाइएको छ।

आरोपितमध्ये एकजनालाई मात्रै पक्राउ गरिएको छ। पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेल मात्रै हिरासतमा छन्। जीबीसहित १३ जना फरार छन् भने अरु तीन जनालाई अनुपस्थित भनेर मुद्दा दायर गरिएको छ।प्रतिवादीहरुमा जीबीसहित सागर केसी, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा, वीरबहादुर रानाभाट र थानबहादुर बुढा मगर रहेका छन्।

शरण, वीरबहादुर र थानबहादुरलाई अनुपस्थित जनाएर मुद्दा दायर गरिएको छ। सहारा चितवन सहकारीका बचतकर्ता समेत रहेका जाहेरवालाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ १८ पैसा हिनामिना गरेको अभियोग छ।

यस्तै सोही सहकारीका भरतपुर, रत्ननगर, टाँडी र पर्साको सेवा केन्द्रका जाहेरी दरखास्त पेस गर्ने बचतकर्ता बाहेकको बचत रकम ५२ करोड ६७ लाख ७ सय ६२ रुपैयाँ २९ पैसाको हकमा पछि बचतकर्ताहरुको उजुरी परेका बखत कानुनबमोजिम हुने अभियोग पत्रमा उल्लेख गरिएको छ।

सहकारीको चार करोड ८४ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ। सहकारीबाट विभिन्न ५ वटा कम्पनीमा रकम लगेको देखिएको छ। यसमध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ ६ पैसा गएको भनिएको छ। तर गोर्खा मिडियाको खातामा भने ३ करोड ५० लाख रुपैयाँ मात्रै गएको देखिएको छ।

यस्तै नेचर हब्र्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८ सय ९७ रुपैयाँ ४ पैसा गएको भनिएको छ। तर अनुसन्धानका क्रममा ९६ लाख मात्रै गएको देखिएको अभियोग पत्रमा उल्लेख छ।जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८ सय ५४ रुपैयाँ ७४ पैसा गएको भनिएकोमा एक करोड २५ लाख ३२ हजार रुपैयाँ मात्रै गएको देखिएको छ।

नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३ सय २२ रुपैयाँ ८३ पैसा गएको भनिएकोमा एक करोड २७ लाख गएको पाइएको छ भने स्प्रिङ उड रियल स्टेट हाउजिङ प्रालिमा ६ करोड ८१ लाख ८८ हजार ७ सय ३ रुपैयाँ ८३ पैसा गएको देखाइएको छ।

यसबाहेक उक्त सहकारीको विवरण रहेको सफ्टवेयरमा अन्य कारोबार नदेखिएको पनि अभियोग पत्रमा उल्लेख छ। चन्द्रागिरि सबरेमिट प्रालिमा ४१ लाख ३० हजार, नेक्स म्युजिक बार प्रालिमा ७० लाख र स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारीमा ९ करोड रकम पठाएको आईबीटी कारोबारमा देखाइएको छ। तर उक्त विवरण सफ्टवेयरमा भने फेला परेको छैन। अहिले दाबी लिइएको ३७ करोड बढी रकम ४४६ जाहेरवालालाई भराइदिन माग गरिएको छ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६