अर्घाखाँची,२६ कार्तिक। हरिबोधिनी एकादशीका दिन मंगलबार सन्धिखर्क र शितगंगा नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । नगरपालिका र अन्तर्गतका सबै कार्यालय र स्कुलमा बिदा दिइएको छ ।
एकादशीको दिन सन्धिखर्क र चुत्रावेशी बजारसहित अर्घाखाँचीका गाउँ(गाउँमा देउसी भैलो खेलेर तिहारलाई बिदाई गर्ने परम्परा रहेको छ । एकादशीको दिन राजनीतिक दल, भातृ संघसंगठन, विद्यार्थी, विभिन्न क्लब, आमा समूहसहित दर्जनौं भैलो समूहले बजारमा नाचगान गर्छन् ।
बजारमा ट्राफिक व्यवस्थापन गर्न आइतवार सन्धिखर्क नगरपालिकाले सर्वपक्षीय बैठक बसालेर बजारका गल्लीमा मालवाहक गाडी र सदरमुकामबाट गाउँ आउजाउ गर्ने सवारी गाडीलाई रोक लगाएको छ । एकादशीको पूर्वसन्ध्यामा सोमबार बिहानैदेखि विभिन्न समूहहरु सन्धिखर्क बजारका गल्लीगल्लीमा र सरकारी कार्यालयमा देउसी भैलो खेलिरहेका छन् ।
‘आज र भोली दर्जनौं देउसी भैलो र एकादशीमा आउने भक्तजनको भीडभाड बढी हुन्छ, त्यसको लागि ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसँग छलफल गरेका र्छौ,’ सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले भने, ‘बजारमा भैलो खेल्न, दर्शकलाई हेर्न सहज बनाउन चारैतिरबाट सदरमुकाम आउजाउ गर्ने सवारी साधनलाई बजारमा नल्याई पायक पार्ने ठाउँ तोकेर व्यवस्थापन गर्ने निर्णय गरेका छौं ।’
एकादशीमा विभिन्न समुहमा भैलो खेलेर तिहारलाई बिदाई गर्ने परम्परा रहेकाले बजारलाई व्यवस्थित गराउन लागिएको उनले बताए । सोमबार विहानै देखि सदरमुकाम र गाउँमा जातजातिका ड्रेस लगाएर देउसी भैलो खेलिरहेका छन् । एकादशीमा कपिलवस्तु, प्यूठानबाट समेत भैलोको समुह अर्घाखाँचीमा नाचगान गर्छन् ।
त्यसको लागि पश्चिमतर्फको भूमिकास्थान नगरपालिकाका गाउँबाट सदरमुकाम आउने सबै सवारी साधनलाई बेलवाटिका, मालारानी र छत्रदेव गाउँपालिकातिरबाट आउनेलाई बसपार्क, पाणिनि गाउँपालिका र शितगंगा नगरपालिकातिरबाट आउनेलाई ट्राफिक कार्यालयतिर पार्किङको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया