रुपन्देही २९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनको सिचुआन प्रान्तले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री बिहीबार नेपाल फर्किएका हुन् । कात्तिक २६ गते उक्त सम्मेलनका लागि प्रस्थान गरेका मुख्यमन्त्री आचार्यको विदाइ सिचुआन प्रान्तका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थलमा गरेका थिए ।
मुख्यमन्त्री आचार्यले चीन भ्रमणलाई लुम्बिनी प्रदेशको समृद्धि र विकासको लागि महत्वपूर्ण रहेको बताएका छन् । ‘भ्रमणमार्फत लुम्बिनी प्रदेशको विकासका एजेन्डा र योजनाहरु प्रस्तुत गर्न सफल भयौं’, उनले भने, ‘लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण तयार गर्नु र विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न भ्रमण महत्वपूर्ण रह्यो ।’
मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालका अनुसार सिचुआन प्रान्त र लुम्बिनी प्रदेशबीचको मितेरी सम्बन्धलाई पुनः सुदृढ बनाउने, लुम्बिनीमा लगानी भित्र्याउने, पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण गर्ने तथा सिचुआनको देयाङ नगरसँग लुम्बिनीका नगरपालिकाहरुको मितेरी सम्बन्ध स्थापना गर्ने योजना तय गरिएको छ ।
मुख्यमन्त्री आचार्यले सम्मेलनमा सिचुआन प्रान्तका लगानीकर्ताहरुलाई लुम्बिनी प्रदेशमा लगानीको लागि आह्वान गर्दै प्रदेश सरकारले लगानीको सुरक्षामा प्रतिबद्धता जनाएको बताए । उनले बुद्ध सर्किटसँग जोड्न नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लामा मोनोरेल सञ्चालनका लागि अध्ययन गर्न विदेशी लगानीकर्तासमक्ष योजना अघि सारेका छन् ।
मुख्यमन्त्रीको टोलीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, जनसम्पर्क सल्लाहकार डा। रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा। सागर न्यौपाने, र मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्य सहभागी थिए ।
लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबीचको सम्बन्ध सन् २०१९ मा स्थापित भएको थियो, जुन तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा भएको थियो। कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सहमति समेत भएको थियो ।
मुख्यमन्त्री आचार्यले भ्रमणको क्रममा पर्यटन भौतिक पूर्वाधार निर्माण, मोनोरेल सञ्चालन, लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना, चिनियाँ विधायन पद्धतिबाट लुम्बिनी प्रदेशसभा सदस्यहरुको क्षमता अभिवृद्धि, कृषक र जडिबुटी उत्पादकहरुको लागि तालिम र बजारीकरणमा सहयोग लगायतका बिषयमा चिनियाँ पक्षसँग छलफल गरेका थिए ।
३० कार्तिक २०८१, शुक्रबार
प्रतिक्रिया