ब्रेकिंग न्युज

एक्ला एक्लैको काङ्ग्रेस एमालेसंग प्रतिस्पर्धा गर्न समाजवादी मोर्चाको गठबन्धन




कपिलवस्तु ३० कार्तिक ।समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी सहितका दलहरूले स्थानीय तहको उपचुनाव मिलेर लड्ने भएका छन्।मंसिर १६ गते देशभरका ४४ स्थानमा हुन लागेको उपचुनावमा माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी मिल्ने भएका हुन्।
उपचुनावको लागि आगामी २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।मोर्चा आबद्ध दलले निर्णय गर्ने अन्तिम अधिकार भने वडा, पालिका, जिल्ला र प्रदेशमा रहेको सम्बन्धित तहलाई दिएका छन्। उपचुनावमा समाजवादी मोर्चा आबद्ध दल एकैठाउँमा उभिने निर्णय भएको एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।
‘अहिलेसम्म कतिपय ठाउँमा त मोर्चाभित्रकै घटक माओवादी केन्द्रसँग छलफल भएर सघाउने टुंगो लागिसकेको छ,’ ती पदाधिकारीले भने, ‘गुल्मी, रुकुम पश्चिम, रुकुम पूर्व लगायत ठाउँमा। उम्मेदवार जसको भए पनि मोर्चाले नै सहयोग गर्ने भन्ने छ। अन्यत्र पनि मोर्चा एकै ठाउँमा हुने गरी तयारी भइरहेको छ।’एकीकृत समाजवादीलाई सम्मानजनक संख्या दिने समझदारी भइसकेको उनले बताए।
मोर्चामा आवद्ध भए पनि उपेन्द्र यादवजीको पहाडी क्षेत्रमा ठूलो माग दाबी छ जस्तो लाग्दैन, विप्लवजीको नेपाल कम्युनिस्ट पार्टीले सघाउने बताउनुभएको छ,’ समाजवादीका ती पदाधिकारीले थपे।केही रिक्त स्थानमा एकीकृत समाजवादीले उम्मेदवारका विषयमा निर्णय गरिसकेको भए पनि सार्वजनिक गरेको छैन। मोर्चामा छलफल गरेर मात्रे निष्कर्षमा पुग्ने सो दलको भनाइ छ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माओवादी उम्मेदवारलाई सघाउने तयारी गरेको छ। जिल्लामा त्यसको प्रयास सुरु भइसकेको माओवादी केन्द्रीय सदस्य गोविन्द रोक्का बताउँछन्
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, रुकुम पश्चिमको सानोभेरी गाउँमापालिका वडा नम्बर ४ को वडाध्यक्षमा माओवादी उम्मेदवारलाई सघाउने निर्णय भएको नेपाल कम्युनिस्ट पार्टीका रुकुम पश्चिम संयोजक चन्द्र सीले जानकारी दिए।हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पनि रिक्त छ। ०७९ वैशाखमा भएको चुनावमा माओवादीले जितेकोले यसपटक उसैलाइ मोर्चाले सघाउने निर्णय भएको छ।
हामी उम्मेदवार मोर्चाबाटै उठाउँछौँ,’ एकीकृत समाजवादीका अर्का पदाधिकारीले भने, ‘देशभरको ४४ वटा सिटमा केहीमा माओवादी र हाम्रो उम्मेदवार उठ्नुहुनेछ।’मोर्चाका अन्य घटकको प्रभाव र बर्चस्वका आधारमा सो निर्णय लिइएको र सर्वसम्मत निर्णय भएको ती नेताले बताए।
‘स्थानीय तहमा के आवश्यकता छ, त्यही अनुसार टुंगो लगाउनु, पार्टी हित र सहयोग पुग्नेगरी गर्नु भनेर हामीले यहाँबाट निर्देशन दिएका छौँ,’ एकीकृत समाजवादीका ती पदाधिकारीले थपे, ‘त्यहीँको निर्णय अनुसार हुन्छ। वडा, पालिका, जिल्ला र प्रदेशसँग साथीहरूले समन्वय गरिराख्नुभएको छ।’
माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार कात्तिक २६ गते बसेको पदाधिकारी ९कार्यालय०को बैठकले रिक्त सबै स्थानमा मोर्चा आबद्ध दल मिलेर लड्ने निर्णय भएको बताए।
‘पहिलो प्राथमिकता मोर्चाकै दललाई हुने भयो, सत्तामा रहेर पनि अन्तरविरोध भएका साना पार्टीसँग पनि मिलेर जाने गरी छलफल भइरहेको छ,’ ती पदाधिकारीले भने, ‘स्थानीय अन्तरविरोध के छ हेर्ने, चुनाव त जित्नै पर्छ।’
माओवादीले जितेर रिक्त भएका मध्ये मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२, जाजरकोटको कुशे गाउँपालिका–७, कालिकोटको तिलागुफा नगरपालिका–४ र दार्चुलाको दुहुँ गाउँपालिका–५ हुन्। तर, माओवादीले सबैभन्दा बढी प्रतिष्ठाको विषय कीर्तिपुर नगरपालिकालाई बनाएको छ।
विप्वलले मंसिर ७ गते केन्द्रीय समिति बैठक राखेका छन्। यसपटक पनि उनले दलबाट चुनावमा भाग लिने छैनन्। नेताहरूका अनुसार नजिकको मित्र शक्ति भएको र एकताको गृहकार्य भइरहेकोले माओवादीका उम्मेदवारलाई सघाउने अनौपचारिक निर्देशन पार्टीले दिइसकेको छ।‘हाम्रो भोट अन्यत्र जाँदैन,’ नेपाल कम्युनिस्ट पार्टीका एक नेताले भने।
एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले भने–‘मोर्चा पनि सक्रिय छ र हाम्रो आफ्नो ढंगले पनि उम्मेदवार तय भएको छ।’
कोशी प्रदेशमा झापाको कन्काई नगरपालिका ६, ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३, तेह्रथुमको लालिगुँरास नगरपालिका ८, सुनसरीको गढी गाउँपालिका ६, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५ र उदयपुरको बेलका नगरपालिका ९ र त्रियुगा १२ को वडाध्यक्ष पद रिक्त छ।यसैगरी ओखलढुङ्गाको जिल्ला समन्वय समिति प्रमुख पद पनि रिक्त छ।
यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४, धनुषाको धनुषाधाम नगरपालिका १, महोत्तरीको रामगोपाल नगरपालिका २, रौतहटको ईशनाथ नगरपालिका ७ र राजपुर नगरपालिका ६, गढीमाई नगरपालिका ८ को वडाध्यक्ष पद पनि रिक्त छ।
यता, काठमाडौँको कीर्तिपुर नगरपालि प्रमुख, कीर्तिपुर नगरपालिका १, ४ र १६ नम्बर वडा, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, नुवाकोटको ककनी गाउँपालिका २, हेटौंडा उपमहानगरपालिका १२ मा पनि पद रिक्त छ।
उता, गण्डकीमा पर्ने गोरखा नगरपालिका ५ वडाध्यक्ष पद रिक्त छ।लुम्बिनी अन्तर्गत पर्ने, गुल्मीको मुसिकोट नगरपालिका १, रोल्पाको रुण्टीगढी गाउँपालिका ४, कपिलबस्तुको शुद्धोधन गाउँपालिका १, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा उपनिर्वाचन हुँदैछ।
कर्णाली प्रदेशमा पर्ने दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दुल्लु नगरपालिका १३, कालीकोटको तिलागुफा नगरपालिका ४ जाजरकोटको कुसे गाउँपालिका ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ हुम्लाको सर्केगाँड गाउँपालिका उपप्रमुख पनि रिक्त छ।उता सुदूरपश्चिम अन्तर्गत पर्ने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६, दार्चुलाको दुहुँ गाउँपालिका ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा रिक्त पदमा उपचुनाव हुँदैछ।

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६