अर्थ-वाणिज्य

उपचारमा मेडिसिटी अस्पताल आएका बिरामीको मृगौला गायब




काठमाडौं ६ मंसिर । भर्खर मृगौला प्रत्यारोपण गरेका इलामका सरोज सुब्बा गत कात्तिक २१ गते नेपाल मेडिसिटी अस्पताल ललितपुरमा फलोअपका लागि भर्ना भए । दुई दिनपछि उनको उपचारका क्रममा मृत्यु भए पनि लास अझै उठेको छैन ।

अहिले मृतकका आफन्तहरु अस्पतालविरुद्ध आन्दोलित छन् । अस्पतालले मृत्युअघि बिरामीको मृगौला गायब पारिदिएको उनीहरुको आरोप छ । अस्पतालले भने परीक्षणका लागि मृगौला झिकिएको र त्यसलाई फेरि राख्नु अगाडि बिरामीको मृत्यु भएको दाबी गरेको छ ।

सुब्बाले कार्तिक ६ गते सोही अस्पतालमा २१ वर्षीया भतिजी प्रतिमा सुब्बाको मृगौला प्रत्यारोपण गरेका थिए । सुब्बा २१ गते फलोअपका लागि अस्पताल भर्ना भए, तर अस्पताल भर्ना भएकै दिन मृगौला गायब पारिएको र त्यसको दुई दिनपछि सुब्बाको मृत्यु भएको मृतकका ज्वाइँ कुमार राईले बताए ।मृत्यु भएपछि मात्रै आफूहरुले मृगौला नभएको थाहा पाएको उनको भनाइ छ ।

राईका अनुसार बिरामीका आफन्तलाई कुनै पनि सूचना नदिई अस्पतालले बिरामीको मृगौला झिकिदिएको हो । राईले नेपालप्रेसलाई भने, ‘फलोअपमा जाँदा अस्पतालले बिरामीको मृगौला नै झिकेको रहेछ । हामीले बिरामीको मृत्यु भएपछि मात्रै मृगौला झिकिएको जानकारी पायौं ।’कात्तिक २१ मा अस्पताल पुगेका सुब्बालाई पूरै शरीरमा इन्फेक्सन भएको भनेर इमरजेन्सीमा भर्ना गरिएको थियो ।

राईले भने, ‘उहाँको मृगौला प्रत्यारोपण गरेपछि पनि स्वास्थ्य राम्रो भएको थिएन । जाने बुझेकाहरुले मृगौला प्रत्यारोपण गरेको केही समय असहज नै हुने भनेपछि सामान्य नै होला जस्तो लागेको थियो, तर दुई दिनपछि उहाँको ज्यान नै गयो ।’केही वर्ष पहिला सामान्य दुर्घटनामा परेपछि असहज महसुस गरेका सुब्बा मेडिसिटी अस्पताल गएका थिए । चेकजाँचका क्रममा अस्पतालले मृगौलामा समस्या रहेको रिपोर्ट दियो । त्यसपछि ६ महिनासम्म डाइलाइसिस गर्नुपर्ने बतायो ।

६ महिना डाइलासिस गरेपछि पनि सुब्बा निको भएनन् । यसपछि अस्पतालले मृगौला नै प्रत्यारोपण गर्नुपर्ने भन्दै मान्छे खोज्न लगाएको राईले बताए । त्यसपछि सुब्बाकी भतिजीले आफ्नो मृगौला दिएकी थिइन् ।गत कात्तिक २३ गते सुब्बाको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएपछि उनका आफन्तहरु भेला भए । लास उठाउनुअघि मृतकको मृगौला नै गायब पारिएको थाहा भएको राईले बताए ।

उनले भने, ‘बिरामीको रिपोर्ट हेर्दा किड्नी नै थिएन । यसबारे हामीले अस्पताललाई सोध्दा झिकेर चेक गर्न पठाएको बताए । हामीले किड्नी खोज्यौं, तर अस्पतालले ‘कहाँ पर्‍यो पर्‍यो’ भनेर जवाफ दियो ।’मेडिसिटी अस्पतालमै सुब्बाको उपचारका लागि करिब २६ लाख खर्च भइसकेको राईले बताए । कात्तिक २३ गतेबाट अस्पताल परिसरमा मृतकका आफन्त दैनिक रुपमा आन्दोलित छन् ।

‘आन्दोलन गरेपछि सुरुमा अस्पतालले सहमति गर्छौं भन्यो, तर पछि अस्पतालको बिलमा केही छुट दिन्छौं भने । अस्पतालको यो शर्त हामीलाई मञ्जुर भएन’, राईले भने, ‘हाम्रो माग भनेको किरिया खर्चका लागि पाँच लाख र दुई छोरामध्ये एक छोरालाई अस्पतालले पढाइदिनु पर्‍यो भन्ने हो ।’

सुब्बाका श्रीमती र दुई छोरा छन् । दुई छोरा १२ र ७ वर्षका छन् । सुब्बा गाउँमै खेतीपाती गर्थे ।सुब्बाको मृगौला गायब पारिएकोबारे बुझ्न हामीले मेडिसिटी अस्पताल प्रशासनमा सम्पर्क गर्‍यौं । अस्पताल प्रशासनले भने मृगौला गायब नपारिएको बतायो ।

अस्पताल प्रशासनले नेपालप्रेसलाई भन्यो, ‘बिरामीको शरीरमा पूरै इन्फेक्सन भएको रहेछ । मृगौलाकै कारणले इन्फेक्सन भएको हो कि भनेर झिकेर चेक गर्न पठायौं । मृगौला झिकेको एक दिन पछाडि बिरामीको मृत्यु भयो । त्यो मृगौला हामीसँगै छ ।’

छानबिन गर्न पनि तयार रहेको प्रशासनका कर्मचारीको भनाइ छ ।उनले भने, ‘छानबिन गर्न पनि हामी सहयोग गर्छौं भनेका छौं । हामीले दिनसक्ने क्षतिपूर्ति दिन्छौं भनेकै छौं । परिवारले पनि हाम्रो कुरा बुझेको छ, तर मृतकका आफन्तले चाहिँ परिवारलाई भड्काइरहेका छन् ।’

तर मृतक सुब्बाका ज्वाइँ राई भने आफूहरुले मृतकको परिवारलाई नभड्काएको बताउँछन् । मृतकका परिवारले मृगौला गायब पारिनुको चित्तबुझ्दो जवाफ र क्षतिपूर्ति खोजेको उनी बताउँछन् ।उनले भने, ‘हाम्रो माग पूरा नभएसम्म यो अस्पतालबाट मृतकको लास उठ्दैन ।’

यस विषयमा प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको राईले बताए । उनले भने, ‘जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी दिन गएका थियौं, तर प्रहरीले जाहेरी लिनै मानेन । कानूनले नै गर्न मिल्ने काम त प्रहरीले गरिदिएको भए हुन्थ्यो नि १’तर जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले भने जाहेरी लिन नमानेको भन्ने कुरै गलत रहेको बताए ।

उनले भने, ‘अहिलेसम्म जाहेरी आएको छैन । जाहेरी दिनु भनेका छौं । जाहेरी पर्नासाथ आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाउँछौं । यदि डाक्टरले गल्ती गरेको प्रमाणित भए ५ वर्षसम्मको कैद हुने व्यवस्था छ ।’

प्रकाशित : ६ मंसिर २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६