काठमाडौं १३ मंसिर । नेकपा एमालेले काठमाडौंको दरबार मार्गमा गरेको विशाल जागरणसभाबाट निस्केको फोहोर आफूहरुले उठाएको राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष अमित लामाले बताएका छन् ।उपाध्यक्ष लामाले मंसिर ७ गतेको जागरणसभाको फोहोर भोलिपल्ट बिहान दुई ट्रक सङ्कलन भयो भनेर प्रायोजित मिडियालाई प्रयोग गरी नेकपा एमालेलाई बदनाम गराउन खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै एमालेले अहिलेसम्म गरेका सभा र सम्मेलनको फोहर व्यवस्थापन पार्टींले नै गरेको बताए ।
कार्यक्रम समापन भएपछि युवा संघलगायतका साथीहरू सरसफाइमा केन्द्रित भएको बताउँदै उनले भने, ‘हामीले जति पनि सभा र सम्मेलनहरू भएका छन् त्यसको सफाइ गर्छौं, काठमाडौंमा पनि राति ११ बजेसम्म हामीले कार्यक्रमस्थल सफा गरिसकेका थियौं, तर हामीलाई फोहोरसँग जोडेर विभिन्न प्रचारबाजी गर्ने काम भयो । यस कामको हामी खण्डन गर्छौं ।’
काठमाडौंमा अन्य दलहरूले पनि कार्यक्रमहरू गरिरहेको र फोहोर गरे पनि महानगरले पत्राचार नगरेको भन्दै उपाध्यक्ष लामाले भने, ‘यो सरासर नेकपा एमालेप्रतिको लक्षित अभियान हो, तर हामीले बालेनलाई असफल बनाएका छौं । बालेन नेकपा एमालेप्रति आक्रामक हुनु एकपक्षीय रूपमा नेकपा एमालेको पछाडि लाग्नु पक्कै पनि राम्रो होइन । यसको जवाफ काठमाडौंका जनताले आवश्यक भए पछि दिनेछन् ।’
उनले सुनियोजित ढङ्गले कथित युट्युबर प्रयोग गरी एमालेलाई बदनाम गर्न खोजिएकोप्रति आफूहरुको गम्भीर आपत्ति रहेको बताए ।काठमाडौं, त्यहाँमाथि पनि व्यवसायिक स्थानको फोहोर बिहानको समयमै उठाउने गरिन्छ, तर दैनिक गरिने उक्त फोहोर उठाउने कार्यसँग हाम्रो पार्टीलाई जोडेर बदनाम गराउन खोज्नु खेदजनक छ, यसबाट नै महानगरको नियत प्रस्ट हुन्छ । भ्रमबाट मुक्त हुन सम्पूर्ण काठमाडौं महानगरवासी र देशभरका सचेत नागरिकहरूलाई हार्दिक अनुरोध गर्दछु’, लामाले भने, ‘नेकपा एमाले विकास र सम्मृद्धिको पक्षमा हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । कसैले अनावश्यक हल्ला पिटेको भरमै नेकपा एमाले विचलित हुँदैन ।
प्रतिक्रिया