काठमाडौँ १८ मंसिर ।उपनिर्वाचन २०८१ को मतपरिणामले पनि ठूला दलको वर्चस्व देखाएको छ । सातै प्रदेशका विभिन्न पालिकामा भएका निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एकअर्काका पद अदलबदल गरे पनि मतपरिणामले राजनीतिक रूपमा कुनै उथलपुथलको संकेत गरेको छैन । नतिजा अनुसार रास्वपालाइ जनताले पत्याएनन ।
दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद यसअघि नै निर्विरोध भएको थियो भने आइतबार ४१ पदमा मतदान भएको हो । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १र१ पदमा विजयी भएका छन्
उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ ।
कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले लगेको छ । माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो ।
त्यस्तै, उपनिर्वाचन भएका ३४ वडाका अध्यक्षमध्ये २०७९ को निर्वाचन कांग्रेसले १९, एमालेले ८, माओवादीले ६, जसपा नेपालले १ पद जितेका थिए । यस पटक कांग्रेसले ३ वडा गुमाएर १६ र एमालेले ३ वडा गुमाएर ५ मात्र जितेका छन् । माओवादीले भने १ थप गरी ७ वटा वडामा जितेको छ भने जसपा नेपालले १ थपेर २ वडामा जितेको छ । यसपालि एसले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले १ पदमा जितेका छन् । स्थानीय तहमा रास्वपाले एउटा वडासहित पहिलो पटक उपस्थिति दर्ज गरेको छ ।
काठमाडौंको कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनभन्दा ७ सय ७९ मत बढी ल्याएका छन् । डंगोलले ५ हजार ३ सय ३४ र महर्जनले ४ हजार ५ सय ५५ मत ल्याएका हुन् । एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत पाए । कीर्तिपुर–१ र ४ को वडाध्यक्ष पनि कांग्रेसले जितेको छ ।
प्रतिक्रिया