सुनसरी १७ पुस ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिले दुई ठूला दल मिलेर सरकार बनाए तापनि आगामी २०८४ को निर्वाचनमा एमालेसँगै मुख्य प्रतिस्पर्धा हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरीमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै कोइरालाले ०८४ सालको चुनावमा गठबन्धन नहुने बताए ।
कोइरालाले अहिलेको सरकार असफल भएमा अराजकता निम्तिने भन्दै केपी ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको बताए ।
कोइरालाले भने, ‘अहिलेको सरकार असफल हुने छुट छैन र छिटोभन्दा छिटो काम गर्नुपर्ने अवस्था छ, राजनीतिक स्थायित्वको निम्ति कांग्रेस र एमाले ठूला दल मिलेर सरकार बनाएकाले निराश जनतामा आशा ल्याउने काम गर्न ढिलाई गर्न हुँदैन ।’
सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गर्न उनले सरकारलाई सुझाव दिए । लोकतन्त्रको पहरेदार सञ्चारमाध्यमले आशा जगाउने किसिमका समाचारहरूलाई पनि प्राथमिकता दिन उनले आग्रह गरे । ‘अहिले चारैतिर निराशा रहेका बेला सानोभन्दा सानो भए पनि राम्रो कामलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्छ,’ नेता कोइरालाले भने ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सबैको सहकार्य हुनुपर्ने बताए ।कार्यक्रममा मंसिर २८ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचनअन्तर्गत सुनसरीमा अध्यक्षमा विजयी कार्यसमिति, प्रदेश परिषद् सदस्य र संघीय परिषद् सदस्यलाई पदस्थापन गरिएको थियो ।
प्रतिक्रिया