कपिलवस्तु २५ पुस ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की प्रहरीको हिरासतबाट रिहा भएका छन् ।सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशपछि बैंक ग्यारेन्टीमार्फत उक्त रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । उनलाई ४ कात्तिकमा म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसयता पटकपटक म्याद थप्दै हालसम्म हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।
लामिछानेलाई छाड्ने अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।’
उनलाई अदालती प्रक्रिया पूरा गरेर फिस्टेल अस्पताल पोखरामा स्वास्थ्य परीक्षणका लागि लगिने रास्वपाले जनाएको छ ।कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा लामिछाने आफैँ काठमाडौं अदालतमा उपस्थित हुने बताइएको छ ।
२५ पुस २०८१, बिहिबार
प्रतिक्रिया