असार दोस्रो सातादेखि बन्द रहेको बुटवलस्थित सिद्धार्थ केवलकार पुनःसञ्चालनमा आएको छ । बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोटगढी जोड्ने केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसँगै पुनः सञ्चालनमा आएको हो ।
बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्तादेखि नियमित सञ्चालन सुरु गरिएको सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो ।
यो अवधिमा केवलकारको सिष्टम अपग्रेटसँगै पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेशनमा रहेको सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङ सिष्टम जडान, रेष्टुरेन्ट भवन निर्माण तथा टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतको काम गरिएको छ ।
त्यसमध्ये रेष्टुरेन्ट भवन तथा सिद्धार्थ स्ट्याचु, शौचालय निर्माणाधीन अवस्थामै रहेको कम्पनिका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो । दुई किलोमिटर दूरी रहेको केवलकारमा ८ जना क्षमताका २५ वटा गोण्डुला रहेका छन् । जसमा बटम स्टेशन, टप स्टेशन तथा पोलहरुमा यसअघि चेन हलेज सिष्टम थियो ।
त्यसलाई अहिले टायर हलेज सिष्टममा बदलिएको छ । कार्कीका अनुसार यसले केवलकारको गति बढाउँछ भने यात्राको समय घटाउँछ । त्यस्तै, पोलहरुमा खडखडाउने आवाज पनि बन्द भएको उहाँले बताउनुभयो । त्यस्तै, पहुँचमार्गमा दुबैतर्फ विद्युत्तीकरण गरिएको र पूर्वाधार निर्माणको काम बाँकी रहेको प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताउनुभयो ।
यो केवलकारको बटम स्टेशन बुटवल वडा १ मा रहेको छ भने टप स्टेशन पाल्पाको तिनाउँ गाउँपालिका वडा १ को नवाकोट गढीमा पर्दछ । नेपाल अंग्रेज युद्धसँग जोडिएकाले यसले धेरै महत्व बोकेको छ । केवलकारको बटम स्टेशन समुद्रि सतहबाट तीनसय मिटर र टप स्टेशन समुद्रि सतहबाट आठसय मिटरको उचाइमा रहेको छ ।









प्रतिक्रिया