देशभर फैलिएको जापानीज इन्सेफ्लाइटिसका कारण हालसम्म ११ जनाको ज्यान गएको छ भने ६३ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार, तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँची जिल्लाका एक – एक जनाको र चितवनका तीन जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् । अघिल्लो वर्ष सन् २०२४ मा यो रोगका कारण २५ जनाले ज्यान गुमाएका थिए भने ८६ जना संक्रमित भएका थिए ।
डा। गौतमका अनुसार जापानिज इन्सेफ्लाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यस्तो लामखुट्टे प्रायः बेलुकी र बिहान झिसमिसे समयमा सक्रिय हुन्छन् ।
धान खेत, दलदल तथा पानी जम्ने ठाउँहरू क्युलेक्स लामखुट्टेको प्रजननका लागि उपयुक्त हुने भएकाले यस्ता क्षेत्रहरूमा संक्रमणको जोखिम उच्च हुन्छ । विशेषतः सुँगुर, हाँस, कुखुरा जस्ता पशुपन्छीबाट लामखुट्टेमा भाइरस सरेपछि ती लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने खतरा हुन्छ । तर, यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
जापानीज इन्सेफ्लाइटिस साउनदेखि कात्तिक महिनासम्म बढी देखिने डा। गौतमको भनाइ छ । हालसम्म देशभर ८२ प्रतिशत बालबालिकालाई यसविरुद्धको खोप दिइएको छ । तर, खोप नलगाएका व्यक्तिहरूमा संक्रमणको जोखिम अझै उच्च रहेको उनले बताए








प्रतिक्रिया