थियानजिन (चीन), १५ भदौः
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।
शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा शनिवार अपराह्न आइपुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो । त्यसअघि उहाँले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गर्नुभएको थियोे ।
भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन बीच लिपुलेकलाई ब्यापारिक नाका बनाउने सहमति प्रति स्पष्ट रुपमा चीनका राष्ट्रपति सी चिनफिङसंग आपत्ति जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले सन १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरु सार्व भौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेमा नेपाल विश्वस्त रहेको धारणा राख्नु भयो । भेटका क्रममा दुई देश बीचको मित्रवत सम्बन्ध र सहकार्यमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा चीन पुग्नुभएको छ ।
राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन पुग्नुभएको हो । उहाँलाई थियानजिन विनहाइ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ, चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । (रासस)








प्रतिक्रिया