गुल्मी, १४ भदौः
विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा सत्यवती गाउँपालिका–८ को लाहुरे गाउँमा गोर्खा ग्यालरी स्थापना गरिएको छ । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा भार्सेमा गोर्खा ग्यालरी स्थापना गर्नुभएको हो । ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर समेटेर ग्यालरी स्थापना गर्नुभएको हो ।
ग्यालरी पछिल्लो समय अनुसन्धानकर्ताका लागि अध्ययन केन्द्रको रुपमा विकसित हुन थालेको छ । लाहुरेहरुको इतिहासलाई जीवन्त राख्नका लागि ग्यालरी निर्माण गरिएको बुढाथोकीको भनाइ छ ।
भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरुको इतिहासलाई जीवन्त राख्न उहाँहरुका तस्बिर राखेर भूपु गोर्खा ग्यालरी र भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अग्रजलाई समेटेर भार्से ग्यालरी निर्माण गरिएको हो । यसले भार्से पुग्ने जोकोहीका लागि पनि सिङ्गो इतिहासलाई नजिकबाट नियाल्न महत्वपूर्ण सहयोग पु¥याउने भार्सेका सामाजिक अगुवा नरबहादुर बूढाथोकीले बताउनुभयो ।
भार्सेबाट प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जना रहेको लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीले बताउनुभयो । भूपु गोर्खा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको छ । जसमा कम उमेर र नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बूढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बूढाथोकीको तस्बिर राखिएको भार्सेका अगुवा नरबहादुर बूढाथोकीले जानकारी दिनुभयो ।
गिरीप्रसाद र श्रीप्रसाद बूढाथोकी बाबुछोरा नै नेपालका पूर्वमन्त्रीहरु हुनुहुन्छ । उहाँहरु बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लड्नुभएको थियो । लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीका बुवा मोतीबहादुर बूढाथोकी पनि विश्वयुद्ध लड्नु भएको थियो । भार्से जन्मिनुभएका लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकी अहिल हङकङमा बस्नुहुन्छ ।
बूढाथोकीले ग्यालरीका लागि करिब रु ५७ लाख लगानी गर्नुभएको छ । “स्वदेश तथा विदेशमा भार्सेलीको गर्विलो इतिहासलाई जोगाउने प्रत्यन मात्र गरेको हुँ”, उहाँले भन्नुभयो ।
भार्से ग्यालरीमा भार्सेली भारतीय, बिर्टिस, नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीसहित ६८४ जनामध्ये अहिले ४०० जनाको तस्बिर राखिएको छ । पछिल्लो समयमा सडक यातायातको सहज पहुँचका कारण भार्से यतिबेला आन्तरिक तथा बाह्य पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै जान थालेको छ । (रासस)








प्रतिक्रिया