अफगानिस्तान, १७ भदौ
अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० भन्दा बढी पुगेको छ । भूकम्पमा परी दुई हजारभन्दा बण्ी मानिस घाइते भएका छन्।
भूकम्पको कम्पन अफगानिस्तानको काबुलदेखि पाकिस्तानको इस्लामावादसम्म महसुस गरिएको छ । आइतबार मध्यरात करिब पौने १२ मा गएको ६.० म्याग्नीच्यूडको भूकम्पका कारण मध्यरातमा र पहाडी क्षेत्रमा रहेका कच्ची घरहरू भत्किएपछि सुतेका परिवारका सयौँ सदस्य हताहत भएको सोमबार जनाइएको छ । भूकम्पको केन्द्रविन्दु जलालाबादबाट करिब २७ किलोमिटर टाढा रहेको युएसजिएसले जनाएको छ ।भूकम्पका कारण धेरै स्थानमा पहिरो गएको र सीमति रूपमा चल्ने यातायातका साधनको आवागमनमा समेत समस्या भएको छ ।
भूकम्पपछि ठूलो उद्धार कार्य जारी रहेको तालिबान अधिकारीहरूले बताएका छन् । भूकम्पको असर काबुलदेखि छिमेकी पाकिस्तानको राजधानी इस्लामावादसम्मका भवनहरूमा स्पस्ट देख्न सकिन्छ। भूकम्पले अफगानिस्तानका कम्तीमा पाँच वटा प्रान्तमा हताहती र विनास निम्त्याएको र उद्धारकर्ताहरूले सोमबार साँझसम्म पनि भत्किएका घरहरूबाट मानिसहरूलाई उद्धार गरी हेलिकोप्टरमार्फत् उपचारका लागि नजिकका सहरमा लगिएको छ । पूर्वी कुनार प्रान्तका विपद् व्यवस्थापन प्रमुख एहसानुल्लाह एहसानले एएफपीसँग भन्नुभयो, “खोजीकार्य जारी छ । धेरै मानिस उनीहरूको घरको भग्नावशेषमा फसेका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमानहरू गरिएको छ ।” तालिवान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार भूकम्पको केन्द्रविन्दु नजिकै रहेको कुनारमा मात्रै करिब ८०० जनाको मृत्यु भएको छ भने दुई हजार ५०० जना घाइते भएका छन् ।
त्यस्तै छिमेकी प्रान्त नांगरहारमा १२ जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन् भने लगमान प्रान्तमा ५८ जना घाइते भएका छन् ।
कुनारको नुर्गल जिल्लाको वादिर गाउँमा आसपासका दर्जनौं बासिन्दाले उद्धारकर्मीहरूलाई भत्किएका घरहरूको भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकाल्न मद्दत गरेको एएफपीले सार्वजनिक गरेका तस्बीरमा देख्न सकिन्छ । धेरै घाइतेहरूलाई नान्गाहार प्रान्तको जलालाबाद शहरका अस्पतालहरूमा लगिएको छ ।








प्रतिक्रिया