कपिलवस्तु, भाद्र १९
नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति लुम्बिनी प्रदेशको संयुक्त विस्तारित वैठक देउखुरीमा सम्पन्न भएको छ। वैठकले महासंघको संस्थागत विकासमा जोड दिँदै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
वैठकले उद्योगीहरूलाई विद्युत प्राधिकरणले लगाउँदै आएको ‘डिमान्ड चार्ज’ हटाउनुपर्ने माग राखेको छ। उद्योगीहरूले हाल प्रतिके.भी.ए. मासिक रु. २५० तिर्दै आएका छन्।
महासंघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकले दीर्घकालीन आर्थिक व्यवस्थापन, रिक्त पदपूर्ति लगायतका विषयमा निर्णय गर्दै कार्यव्यवस्था समितिलाई जिम्मेवारी दिएको उपाध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले जानकारी दिए। अध्यक्ष अधिकारीले महासंघको संस्थागत विकासमा नेतृत्व प्रतिबद्ध रहेको बताए।

यसै क्रममा, संस्थापक एवम् पूर्वअध्यक्ष नेत्र प्रसाद पाठकले उद्योगीका समस्या समाधानमा एकजुट हुनुपर्नेमा जोड दिए। महिला उद्यमी समितिकी पूर्वअध्यक्ष शान्ति शर्माले महिला उद्यमीको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने धारणा राखिन्। केन्द्रीय महिला उद्यमी समितिकी उपाध्यक्ष कृष्ण पाठकले लुम्बिनी प्रदेश महासंघलाई सफल बनाउन निरन्तर साथ रहने प्रतिवद्धता व्यक्त गरिन्।
बैठकमा १२ जिल्लाका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूले आ–आफ्ना प्रतिवेदन पेश गरेका थिए। वरिष्ठ उपाध्यक्ष जयश्वर पौडेलका अनुसार जिल्लास्तरमा भएका रचनात्मक कार्यहरू बैठकमा प्रस्तुत गरिएका थिए।

बैठकमा केन्द्रीय सदस्य धनपत यादव, शेषकान्त शर्मा, जीवनारायण सापकोटा, रामचरण विसी, कुवेर रिजाल, बिर्रत्न शाक्य, चित्रकली बुढामगर, कनैयालाल कसौधनलगायतले मन्तव्य राख्दै घरेलु उद्योग प्रवर्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले दीर्घकालीन आर्थिक संकट समाधान तथा उद्योगीको विकास प्रवर्धनका लागि स्पष्ट नीतिगत पहल आवश्यक रहेको बताएका थिए।








प्रतिक्रिया