बागमती

‘सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने ऐन संशोधन हुन्छ’



काठमाडौँ, १९ भदौः

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्न ‘सहकारी ऐन, २०७४’ लाई संशोधन गरिने बताउनुभएको छ ।

सहकारी पत्रकार समाजको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहमा उहाँले कानुनी समस्या नहुने गरी सहकारी क्षेत्रलाई अनुशासित र व्यवस्थित गर्न आवश्यक परेकाले समयसापेक्ष रूपमा परिवर्तन गरिने धारणा राख्नुभयो । सहकारी ऐन संशोधन भएपछि सोहीअनुसार कार्यविधि पनि बनाइने मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

सहकारी क्षेत्रमा समस्या आएपछि त्यसलाई व्यवस्थित गर्न सहकारी नियमन प्राधिकरण, कर्जा असुली न्यायधीकरणलगायत संरचना बनिसकेको बताउँदै उहाँले बाँकी संरचना पनि बनाउने क्रममा रहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले सहकारीबाट व्यापार, व्यवसाय गर्न ऋण लगेकाले नतिरेकै कारण समस्या आएको बताउँदै कसरी पैसा उठाउने भन्नेतिर पनि सरकारको ध्यान जानुपर्ने धारणा राख्नुभयो । सहकारीले सकारात्मक काम पनि गरेकाले नकारात्मक विषय सच्याउँदै जानुपर्ने उहाँको भनाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदीय छानबिन समितिले दिएको सुझावअनुसार सहकारी नियमन प्राधिकरण बनेपछि सहकारी क्षेत्रमा सुधार हुने आशा गरिएको बताउनुभयो । उहाँले एक वर्ष बित्न लाग्दा पनि अधिकांश काम नभएर असन्तुष्टि आउन थालेकाले कामलाई तीव्रता दिन अनुरोध गर्नुभयो । प्राधिकरणबाट नयाँ निर्देशन पनि आउने गरेपनि अझै बचत ऋणको स्पष्ट परिभाषा भने हुन नसकेको उहाँको विचार थियो । कार्यक्रममा सहकारी क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६