अर्थ-वाणिज्य

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’ मा आकर्षित गौली



दमौली (तनहुँ), २० भदौ

व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट)खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो ।

सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म दर्ता गरी उहाँले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गर्नुभएको छ । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उहाँले बताउनुभयो । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उहाँको भनाइ छ ।

नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट रु २० लाख आम्दानी भएको थियो । यसपटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा रु आठ लाख ५० हजार आम्दानी भइसकेको उहाँले उल्लेख गर्नुभयो । ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ ।

उहाँले भन्नुभयो, “यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।” आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ ।

दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ । यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।”

ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उहाँको भनाइ छ । उहाँले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाउनुभएको छ । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ । सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ । रासस

प्रकाशित : २० भाद्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६