तानसेन (पाल्पा), २० भदौः
पाल्पाको तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो ब्लड बैंक, हामी बनाउँछौँ’ भन्ने अभियान सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आजदेखि ब्लड बैंक सञ्चालनमा ल्याएको हो । चार ठूला अस्पतालसहित एउटा डायलाइसिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको शाखाका सभापति बाबुराम कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अबका दिनमा पाल्पामा रक्त अभावको समस्यालाई समाधान गर्न रक्त बैंक महत्वपूर्ण हुनेछ, विगतमा आकस्मिक अवस्थामा रगत अभावका कारण बिरामी र परिवारजनलाई कठिनाइ व्यहोर्नुपरेको थियो, अबका दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।”
मानिसको जीवन बचाउन सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष कार्कीले अनुरोधसमेत गर्नुभएको छ । जिल्लामा हरेक महिना ३०० देखि ३५० प्वाइन्ट र वार्षिक रूपमा चार हजार ५०० प्वाइन्ट रगतको आवश्यकतापर्ने गरेको छ ।
दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दीर्घकालीन रोगका बिरामीका लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले बिरामीलाई रगतको अभाव हुन नदिन, आधुनिक रक्त बैंक स्थापना गरी सञ्चालनमा ल्याएको शाखा उपसभापति भीमसेन कार्कीले बताउनुभयो ।
ब्लड बैंक सञ्चालनका लागि सङ्घीय स्वास्थ्य मन्त्रालयबाट रु ५० लाखमा अत्याधुनिक उपकरण खरिद भएको, रामपुर नगरपालिकाबाट रु १० लाख बराबरको जेनेटर, रम्भा गाउँपालिकाबाट रु पाँच लाख बराबरको एसी फ्रिज, रिब्दीकोट गाउँपालिकाबाट रु पाँच लाख बराबरको ब्याट्री व्याकपलगायत सरसमान खरिद गरिएको रेडक्रसले जनाएको छ । रेडक्रसले २०८० चैतदेखि साझा अभियानका रूपमा अगाडि बढाएको यो अभियानमा स्थानीय प्रदेश, सङ्घीय सरकारसँगै जिल्लामा रहेका र जिल्लाभन्दा बाहिर रहेका पाल्पालीले आर्थिक रकम सहयोग गरेका थिए । ब्लड बैंक भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट गतवर्ष रु एक करोड ५० लाख र चालु आवमा रु तीन करोड विनियोजन भएको थियो ।
नियमित रूपमा ब्लड बैंक सञ्चालन तथा चालु खर्च व्यवस्थापनका लागि रेडक्रस पाल्पाले विभिन्न व्यक्ति सङ्घसंस्थाबाट रु ६८ लाख सङ्कलन गरेको र रकम सङ्कलन अभियान जारी रहेको शाखा कोषाध्यक्ष सन्तोष खनालले बताउनुभयो ।
ब्लड बैंक सञ्चालन भएपछि आइपर्ने चुनौती र कठिनाइलाई समाधान गर्न शाखाले नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जनचेतनामूलक अभियानलाई निरन्तरता दिने, पालिकास्तरमा पुगेर रक्तदाताको रोष्टर तयार पार्ने शाखाका मन्त्री केशवराज नेपालले बताउनुभयो । तत्कालका लागि अस्थायी रूपमा शाखा कार्यालयमै ब्लड बंैक सञ्चालन गरिएको र स्थायी रूपमा तानसेन नगरपालिका भुसालडाँडामा भवन निर्माण भइरहेको कार्यालय प्रमुख विनोद भारतीले बताउनुभयो । ब्लड बंैक शुभारम्भ कार्यक्रममा पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले रक्तदानको आवश्यकता, यसको महत्व र सामाजिक प्रभावबारे सचेतना फैलाउँदै समुदायलाई नियमित रक्तदाता बन्न प्रेरित गर्न जिल्लाका सञ्चारमाध्यम तथा पत्रकार सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
रक्तदानले केबल जीवन जोगाउने मात्र नभई सामाजिक एकता र सहकार्यलाई पनि बलियो बनाउने महासङ्घ अध्यक्ष तिमिल्सेनाले जोड दिनुभयो । रक्त बैंक सञ्चालनमा आएसँगै पाल्पामा अब आकस्मिक अवस्थामा रगतका लागि दौडधूप गर्नुपर्ने बाध्यता अन्त्य हुने र स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने रेडक्रसका स्वास्थ्य संयोजक डा झपेन्द्र ढकालले विश्वास व्यक्त गर्नुभयो ।रासस








प्रतिक्रिया