अर्थ-वाणिज्य

सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ अर्थमन्त्री पौडेल



काठमाडौँ, २१ भदौ

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पु¥याउनुपर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सञ्चार क्षेत्रलाई आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्ने बताउनुभयो । “सरकारका नीतिगत त्रुटि वा कार्यान्वयनमा कमजोरी भए त्यसलाई प्रस्टसँग जनतासामु उजागर गर्नु सञ्चारको दायित्व हो”, पौडेलले भन्नुभयो, “साथसाथै सरकारले गरेका उपलब्धि र जनहितमा भएका कामबारे नागरिकलाई सुसूचित पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।” सो अवसरमा अर्थमन्त्री पौडेलले आर्थिक पत्रकारिताको महत्त्वमा जोड दिँदै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन पत्रकारको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन तनावलगायत कारण मुलुकको अर्थतन्त्रमा असर देखिएको र पछिल्लो समय सुधार हुँदै गएको बताउनुभयो । मुलुकको आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर महासङ्घले सधैँ पहल गरिरहेको उल्लेख गर्दै उहाँले कानुनी र व्यवहारिक सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको धारणा राख्नुभयो । यद्यपि कानुन कार्यान्वयन कमजोर हुँदा सोचेअनुरुप नतिजा प्राप्त गर्न नसकेको ढकालको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र सुधारका लागि कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि के कस्ता नीतिगत तथा कानुनी सुधार गरिनुपर्छ भनेर परिसङ्घले अध्ययन गरिरहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्र सूचकहरू विस्तार सुधार हुँदै गए पनि निजी क्षेत्र अझै लगानीका तयार नभइसकेको बताउनुभयो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सुझाव तथा सिफारिस कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूले सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौती, पत्रकारिताको गुणस्तर र आर्थिक क्षेत्रसम्बन्धी अनुसन्धानात्मक समाचारको आवश्यकताबारे विचार व्यक्त गर्नुभएको थियो । अधिवेशनले सेजनको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित : २१ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६