डेक्स,भाद्र २२
शिक्षा, कृषि र पूर्वाधार क्षेत्रमा सामुदायिक वनको योगदान महत्वपूर्ण रहेको बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले बताउनुभयो।
मधुवन सामुदायिक वनको २०औं साधारण सभा तथा ९औं अधिवेशनको औपचारिक कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी उपप्रमुख चौधरीले सामुदायिक वनलाई नगरको अमूल्य सम्पत्ति बताउँदै यसको संरक्षण र व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी, डिभिजन वन कार्यालय कपिलवस्तुका निमित्त वन अधिकृत मदन ढुंगानाले वनहरूको प्रमुख उद्देश्य दिगो व्यवस्थापन नै भएको उल्लेख गर्नुभयो। उहाँले वन संरक्षणसँगै जैविक विविधताको संरक्षण, उपभोक्ता सशक्तीकरण र स्रोत साधनको दिगो उपयोगमा जोड दिनुपर्नेमा बल दिनुभयो।
वैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रेनु सेनले वन माथि लगाइने दोहोरो–तेहोरो कर दुखद भएको बताउनुभयो। मोतिपुर सब–डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत एजाज अहमद अन्सारीले सामुदायिक वनले गरेका काम प्रशंसनीय रहेको टिप्पणी गर्नुभयो।
सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष शान्त विक्रम पौडेलले गरिबी न्यूनिकरणतर्फ समितिले गरेका कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै विपन्न कृषकलाई कृषि सामग्री वितरण, असहाय उपभोक्तालाई राहत सहयोग, विपन्न परिवारलाई स्वास्थ्य बीमा र अतिविपन्नलाई आवास निर्माणलगायतका गतिविधि सञ्चालन गरिएको जानकारी दिनुभयो।

कार्यक्रम उपाध्यक्ष शालिकराम भुषालको स्वागत मन्तव्य तथा सचिव अनिता थापाको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा नव प्रभात सामुदायिक वनका अध्यक्ष तथा वैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रीय उपाध्यक्ष डिल्लीराज रेश्मी, श्रींगीघाट सामुदायिक वनका अध्यक्ष शुशिलसिंह ठकुरी, निर्वतमान अध्यक्ष खिमलाल खरेल, वडा नं. ८ का सदस्य सारदा परियार, वनका सल्लाहकारहरु तुल्सी प्रसाद अर्याल, चक्रबहादुर भण्डारी, मधु अर्याल, शंकर प्रसाद आचार्य, बाणगंगा दुग्ध उत्पादक सहकारीका अध्यक्ष राधेश्याम न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको अवसरमा वनका सञ्चार संयोजक, बन हेरालु, उत्कृष्ट उपभोक्ता र वन रक्षकलाई नगदसहित सम्मान गरिएको थियो।








प्रतिक्रिया