अन्तर्राष्ट्रिय

जापानका प्रधानमन्त्री इशिबाद्वारा राजीनामा दिने घोषणा



टोकियो, २२ भदौ

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार आफू सत्तामा बसेको एक वर्ष नपुग्दै पदबाट हट्ने घोषणा गर्नुभएको छ ।

उहाँको घोषणाले विश्वको चौथो ठूलो अर्थतन्त्रका लागि नयाँ अनिश्चितता थपेको छ । यसबेला जापान बढ्दो खाद्य मूल्यसँग जुधिरहेको छ र आफ्नो महत्त्वपूर्ण अटो क्षेत्रमा अमेरिकी भन्सार शुल्कको असर बेहोरिरहेको छ ।

“अब अमेरिकी करसम्बन्धी वार्ता निष्कर्षमा पुगेको छ, म विश्वास गर्छु यो उपयुक्त क्षण हो”, इशिबाले पत्रकार सम्मेलनमा भन्नुभयो, “मैले पछि हट्ने र नयाँ पुस्ताका लागि बाटो बनाउने निर्णय गरेको छु ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार जापानी अटोहरूमा कर घटाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । वासिङ्टनले जुलाईमा टोकियोसँग भएको व्यापार सम्झौता कार्यान्वयन गर्न अघि बढेसँगै यो कदम आएको हो । 

यद्यपि, जापानी अटोहरूले हालको २७ दशमलव पाँच प्रतिशतको सट्टा अब १५ प्रतिशत करm तिर्नुपर्नेछ, जसले अझै पनि प्रमुख उद्योगमा ठूलो दबाब सिर्जना गर्ने बताइएको छ ।

लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को सुरक्षित नेताका रूपमा परिचित ६८ वर्षीय इशिबा सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडिपीको १० औँ प्रधानमन्त्री बन्नुभएको थियो ।

मिडिया रिपोर्टअनुसार, इशिबाले पार्टी विभाजनलाई रोक्न राजीनामा गर्ने निर्णय गर्नुभएको हो । शनिबार राति कृषिमन्त्री र एक पूर्वप्रधानमन्त्रीले उहाँलाई स्वेच्छिक रूपमा पद त्याग गर्न आग्रह गर्नुभएको थियो । गत हप्ता पार्टीका नम्बर दुई हिरोशी मोरियामासहित चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिन सुझाव दिनुभएको थियो ।

जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा हारपछि विपक्षीहरूले इशिबालाई चुनावी नतिजाको जिम्मेवारी लिएर पद त्याग गर्न दबाब दिइरहेका थिए । यस कदमलाई ८४ वर्षीय प्रभावशाली पूर्वप्रधानमन्त्री तारो एसोले समेत समर्थन गरेको जनाइएको छ ।

पार्टी नेताका रूपमा इशिबाको कार्यकाल सन् २०२७ सेप्टेम्बरसम्म रहने प्रावधान थियो । तर अब उत्तराधिकारीका लागि प्रतिस्पर्धा सुरु हुने देखिएको छ । इशिबाका प्रमुख प्रतिद्वन्द्वी साने ताकाइचीले मङ्गलबार प्रतिस्पर्धामा उत्रने घोषणा गर्नुभयो । उहाँलाई कट्टर राष्ट्रवादी नेताका रूपमा हेरिन्छ । सन् २०२४ को नेतृत्व निर्वाचनमा उपविजेता बनेका हाकिस ताकाइची भने मतदातामाझ कम लोकप्रिय देखिनुभएको छ ।

अगस्टको अन्त्यमा गरिएको निक्केई सर्वेक्षणले ताकाइचीलाई इशिबाको सबैभन्दा उपयुक्त उत्तराधिकारीका रूपमा देखाएको छ । त्यसपछि कृषिमन्त्री सिन्जिरो कोइजुमीको नाम आउँछ । तर सर्वेक्षणमा सहभागी ५२ प्रतिशतले नेतृत्व प्रतिस्पर्धा अनावश्यक भएको बताएका छन् ।

यसैबीच, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले इशिबालाई समर्थन जनाउँदै ‘इशिबा डन्ट क्विट’  ह्यासट्यागमार्फत पदमा रहिरहन आग्रह गरेका छन् ।

एलडिपीले सन् १९५५ देखि लगभग निरन्तर शासन गर्दै आएको भए पनि हाल मतदाताहरूले पार्टी त्यागेर लोकप्रिय सान्सितो जस्ता सीमान्त समूहतर्फ आकर्षित भइरहेका छन् । यसको कारण बढ्दो मूल्य, विशेष गरी चामल, खस्कँदो जीवनस्तर र पार्टीभित्रका भ्रष्टाचार घोटालाप्रति असन्तोष रहेको विश्लेषकहरूले बताएका छन् ।

लगनशील राजनीतिज्ञ इशिबा विगत वर्ष आफ्नो पाँचौँ प्रयासमा ‘नयाँ जापान’ को वाचा गर्दै एलडिपी नेता निर्वाचित हुनुभएको थियो । (रासस÷एएफपी) ः

प्रकाशित : २२ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६