काठमाडौँ, २३ भदौः
राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव’ सभा समक्ष प्रस्तुत गर्नुहुने सम्भावित कार्यक्रम तय भएको छ ।
त्यसैगरी आजै विभिन्न पाँच संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
कृषि समितिको बैठकमा ‘केरा व्यवसायी कृषकका समस्याकासम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग’ छलफल गर्ने कार्यक्रम छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने सांसदसँग छलफल’ गर्ने कार्यक्रम छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा ‘स्वास्थ्यसम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल’ गर्ने कार्यक्रम छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा’का बारेमा छलफल गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया