काठमाण्डौ –
काठमाण्डौ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाण्डौ उपत्यकासहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।आन्दोलनरत ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरू वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन् भने विभिन्न सङ्घ–सङ्गठनहरूले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् ।जेनजीका प्रतिनिधिहरू सडकमा सरसफाइ अभियानमा निस्किएका देखिएको छ । आगजनी गरिएका कार्यालयका कर्मचारीहरू पनि ससरफाइ, कागजात सङ्कलन, क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन् । कर्मचारीहरूले कार्यालय सञ्चालनका लागि आवश्यक कामहरू गरिरहेका छन् ।सेनाले पनि निषेधाज्ञा तथा कफ्र्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ । आज बिहान ६ देखि १० बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छ भने आज बेलुकी ५ देखि ७ बजेसम्मका लागि पनि खुला गरिएको छ । सेनाको सूचना अनुसार अहिले बिहान १० बजेदेखि शुरू भएको निषेधाज्ञा बेलुकी ५ बजेसम्म लागू हुनेछ । यस्तै कफ्र्यु आज बेलुकी ७ देखि भोलि बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।काठमाण्डौ उपत्यकामा अत्यावश्यक कामका लागि हिँडडुलमा कुनै समस्या देखिएको छैन । तर अनावश्यक रूपमा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्णरूपमा निषेध गरिएको छ ।काठमाण्डौ उपत्यकामा आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको छ ।
२६ भाद्र २०८२, बिहिबार








प्रतिक्रिया