ब्रेकिंग न्युज

स्थानीयको पहलमा खण्डहर बनाइएको भैँसेपाटीको प्रहरी प्रभाग पुनःस्थापना



ललितपुर, २७ भदौः

‘जेनजी’ आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित प्रहरी प्रभाग स्थानीयले पुनःस्थापना गरेका छन् ।

यही भदौ २३ र २४ गते ‘जेनजी’को नेतृत्वमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती भैँसेपाटीमा आगो लगाइदिएपछि त्यहाँका सबै सामग्री जलेर नष्ट भएका थिए । 

प्रहरी प्रभागका इन्चार्ज शशिधर शर्मासहितको टोली अत्यावश्यक सामग्रीसहित बिहीबार अबेर प्रभागमा प्रवेश गरेको थियो । आन्दोलनकारीले गस्तीमा प्रयोग हुँदै आएको चारपाङ्ग्रे दुईवटा सवारीसाधन, केही मोटरसाइकल र कार्यालयका सबै सामान जलाएर नष्ट पारेका थिए ।

प्रभागमा हाजिर हुन आएका प्रहरी निरीक्षकसहितको टोलीलाई वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा २२ का वडाअध्यक्ष सागर तुलाधर र २१ नं वडाअध्यक्ष रवीन्द्र महर्जनसहित स्थानीयले स्वागत गर्नुभएको थियो । 

प्रहरी टोलीलाई स्वागत गरेसँगै जलेको भवन पुनः मर्मत गरी प्रयोगमा ल्याउनका लागि स्थानीयस्तरबाट स्थानीय सुमन महतको संयोजकत्वमा ११ जनाको समिति गठन गरिएको छ । 

समितिले स्थानीयस्तरबाट श्रमदान, चन्दा र विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटाई प्रभागलाई पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । आज ५० जनाभन्दा बढी स्थानीयहरू प्रभागको सरसफाइमा जुटेका छन् । झ्यालढोका मर्मत, रङरोगन, बत्ती एवं पानीको व्यवस्थासहित अन्य बन्दोबस्तीका सामग्री जुटाउन समिति लागिपरेको छ ।

प्रभागका प्रमुख शर्माका अनुसार हालसम्म स्थानीयबाट रु चार लाखभन्दा रकम सङ्कलन भइसकेको छ । बजार सामान्य अवस्थामा फर्केसँगै बजारबाट सामग्री खरिद गरिने र प्रभागलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ । उहाँले भन्नुभयो, “विगतमा जस्तै जनताको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी आगामी दिनमा लागिपर्नेछ, त्यसका लागि जनस्तरबाट पहिलेजस्तै सहयोग हुने विश्वास छ ।” उहाँका अनुसार गस्तीमा जानका लागि प्रयोग हुने गरेका सबै सवारीसाधन जलेकाले स्थानीयस्तरबाट केही समयका लागि गाडीको व्यवस्था गर्ने तयारी भएको छ ।

ललितपुर महानगरपालिका–२५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नं २२ का सागर तुलाधर, वडा नं २१ का रवीन्द्र महर्जन र वडा नं १८ का दामोदर खड्काले २५–२५ हजार नगद सहयोग गरेका थिए ।

प्रभाग प्रमुख शर्माले वडाअध्यक्ष र स्थानीयको साथ, सहयोग तथा माया महत्त्वपूर्ण रहेको बताउँदै प्रहरी र स्थानीयको सहयोगले शान्तिसुरक्षा कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

नक्खु कारागारका सबै कैदी–बन्दी फरार भएसँगै स्थानीयस्तरमा सुरक्षा चुनौती थपिएको र प्रहरी चौकीलाई चाँडो स्थापना गर्न जरूरी रहेको समितिका सदस्य एवं समाजसेवी देवेन्द्रकुमार गौतमले बताउनुभयो । प्रभागको नेतृत्वमा ४३ जना प्रहरी, आठ जना ट्राफिक प्रहरी र फर्सिडोलको प्रहरी चौकीका अन्य आठ जना रहेका छन् ।

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६