ब्रेकिंग न्युज

प्रधानमन्त्री कार्कीद्धारा पद तथा गोपनियताको शपथ



भाद्र २७, काठमाडौं

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक महिला कार्यपालिका प्रमुख बनेकी शुसिला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई शपथ खुवाउनुभयो ।

कार्कीले यसअघि पनि नेपालको न्याय क्षेत्रमा पहिलो महिला प्रधानन्यायाधीशको रूपमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो । निर्भिक स्वभाव, इमान्दार छवि र निडर निर्णयका कारण चर्चित रहिएकी कार्कीलाई मुलुकको कार्यकारी नेतृत्वको जिम्मेवारी आउनु ठूलो उपलब्धि मानिएको छ ।

समारोहमा प्रधानमन्त्री कार्कीका परिवारका सदस्य, संवैधानिक निकायका प्रमुख, मन्त्रिपरिषद्का पदाधिकारी, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले शपथपछि छोटकरी मन्तव्य दिँदै राष्ट्रको हितलाई सर्वोपरि राखेर राजनीतिक स्थायित्व, सुशासन र न्यायपूर्ण समाज निर्माणका लागि आफू कटिबद्ध रहेको बताउनुभयो । उहाँले मुलुकलाई दिगो विकासको बाटोतर्फ उन्मुख गराउन समावेशी नीति र पारदर्शी प्रशासनलाई प्राथमिकता दिने प्रतिज्ञा गर्नुभयो ।

विराटनगरमा कानुनी पेशाबाट आफ्नो यात्रा सुरु गर्नुभएकी कार्की सर्वोच्च अदालतको न्यायाधीश हुँदै २०७३ सालमा देशको पहिलो महिला प्रधानन्यायाधीश बन्नु भएको थियो । न्यायक्षेत्रमा देखाएको दृढता र इमानदारीका कारण उहाँलाई देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर मिलेको विश्लेषण गरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार कार्कीको नेतृत्वले देशमा नयाँ संस्कारको सुरुवात गर्ने अपेक्षा गरिएको छ । विशेषगरी सुशासन, भ्रष्टाचार नियन्त्रण र न्यायप्रति उहाँको अडानले कार्यपालिका स्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६