अर्थ-वाणिज्य

कार्यालय परिसरमा पाल टाँगेर सेवा दिँदै भैरहवा भन्सार



देवदह (रुपन्देही), २९ भदौः

यही भदौ २३ र २४ गते ‘जेनजी’ समूहको प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको भैरहवा भन्सार कार्यालय रुपन्देहीले पाल टाँगेर सेवा प्रदान गर्न सुरु गरेको छ । कार्यालय परिसरमा पाल टाँगेर शनिबारदेखि सेवा प्रवाह गर्न थालिएको हो ।

भदौ २४ गते आएको प्रदर्शनकारीको समूहले तोडफोड तथा आगजनी गर्दा भन्सार कार्यालयको प्रमुख प्रशासकीय भवन (दुईतले भवन) मा पूर्ण रूपमा क्षति पुगेको प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । 

“प्रमुख प्रशासकीय भवनमा रहेका फर्निचर, कम्प्युटर, आवश्यक कागजातलगायत सामग्री जलेर नष्ट भएका छन्, यात्रु शाखा तथा कार्यालयमा रहेको बैंकको शाखा पनि पूर्ण रूपमा जलेको छ”, उहाँले भन्नुभयो । प्राथमिकता निर्धारण गरी वस्तुको जाँचपास सुरु गरिएको न्यौपानेले बताउनुभयो । शुक्रबार २८२ वटा गाडी जाँचपास गरिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि मुलुकमा भएका विभिन्न आन्दोलन तथा प्राकृतिक विपद्मा पनि भैरहवा भन्सार कार्यालयमो भौतिक संरचनामा क्षति नभएको भन्सार अधिकृत एवं कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । पालबाट सेवा प्रवाह भइरहेकाले आवश्यक समन्वय गर्न उहाँले सेवाग्राही तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

कर्मचारीले पालमुनि बसेर ल्यापटपमार्फत सेवा प्रदान गरिरहेका नेपाल भन्सार एजेण्ट सङ्घका अध्यक्ष मधुप्रसाद पन्थीले बताउनुभयो । “सेवाग्राहीको सुविधालाई ध्यान दिँदै कार्यालय परिसरबाटै सेवा प्रदान गर्ने प्रयास गरेकामा भैरहवा भन्सार कार्यालयप्रति आभार व्यक्त गर्दछौँ”, उहाँले भन्नुभयो ।

प्रमुख भन्सार अधिकृत न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा भैरहवा भन्सार कार्यालयले रु एक खर्ब १३ अर्ब राजस्व सङ्कलनको लक्ष्य पाएको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने भैरहवा भन्सार नेपालको प्रमुख नाकामध्येको एक रहेको उहाँको भनाइ छ ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६