देश

चितवन जिल्ला अदालतबाट सेवा सुरु



चितवन, ३० भदौ

चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो ।

कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कार्वाही गरिने, म्याद थप, जरुरी पक्राउ पुर्जीसहितका सेवा सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “एउटा कोठाबाट दिन सकिने सामान्य सेवाहरू आजदेखि सुरु गरिएको छ ।” अदालतले यही भदौ २४ गतेदेखि आन्दोलनका कारण सेवा दिन सकेको थिएन ।

अन्य नियमित सेवा, मुद्दा सुनुवाइलगायत काम कार्वाही अर्को सूचना जारी गरेर जानकारी दिइने उहाँले बताउनुभयो  । प्रदर्शनकारीले आगजनी गर्दा अदालत भवन पूर्ण रूपमा क्षति भएको छ । अदालतको भौतिक संरचनासहित महत्त्वपूर्ण मिसिल, सर्भरलगायतमा क्षति पुगेको छ ।  उहाँले भन्नुभयो, “संरचना बन्दै जाँदा सेवा विस्तार र थप गर्दै लगिनेछ ।”

तीन सय ३४ कैदीबन्दी फर्किए

यसैगरी जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीहरू फर्किने क्रम जारी रहेको छ । हालसम्म ३३४ जना कैदीबन्दी फर्किएका छन् । १५ जना अन्य कारागारका समेत यहाँ सम्पर्कमा आएका छन् ।

कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट गएका ७४२ जनामध्ये ५० जनाबाहेक अरू सम्पर्कमा छन् । आएकामध्ये ३० महिला हुन् भने ३०४ जना पुरुष हुन् । महिलासँग दुई जना आश्रित बालबालिका समेत आएका छन् । कारागारमा ४६ जना महिला तथा ६९२ जना पुरुष कैदीबन्दी भागेका थिए । अन्य दुई जना भने भागेका थिएनन् । उनीहरूसँग चार जना आश्रित बालबालिका रहेको उहाँले जानकारी दिनुभयो ।

यस कार्यालयबाट भागेकामध्ये चार जना रूपन्देही कारागारमा र एक जना तनहुँ कारागारको सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६