खोज–अनुसन्धान

अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह



काठमाडौँ, ३० भदौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरूबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ ।

आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनुहुनसमेत अनुरोध गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले एक सार्वजनिक सूचना प्रकाशित गरी भदौ २४ गते आन्दोलनका क्रममा यस आयोग र मातहतका कार्यालयहरू (इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारीसाधनहरू (चारपाङ्ग्रे र दुईपाङ्ग्रे), टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत सामानहरू लुटपाट एवं चोरी भएकाले उक्त सामान बुझाउन अनुरोध गरेको हो  । 

“उक्त तोडफोड र चोरीमा संलग्नहरूको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनुहुन अनुरोध छ । अन्यथा कानुनबमोजिम भइजाने व्यहोरासमेत जानकारी गराइन्छ,” आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६