देश

युवा पुस्ताको सीप र ज्ञान सदुपयोग गरी समृद्धिको यात्रामा लाग्न पूर्वराष्ट्रपति भण्डारीको जोड



काठमाडौँ, ३ असोजः

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरूमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदान  फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको उल्लेख छ । 

यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत अर्पण गर्नुभएको छ । साथै गत भदौ २३ गते नयाँ पुस्ताका युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग रोखर गरेको प्रदर्शनका क्रममा अमूल्य जीवन गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

“अब देश हाँक्ने जिम्मेवारी नवयुवा र युवा पुस्तासँग रहेको छ । युवाहरूमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो । युवाहरूको माग, दबाव र स्वाभाविक आक्रोशलाई सकारात्मक रूपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्न सक्नु सबैको दायित्व हो”, पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ । 

मुलुकलाई राजनीतिक अस्थिरता र अन्यौलतातर्फ धकेलिन नदिनका लागि मिहेनत गर्नुपर्ने उत्तिकै जिम्मेवारी राजनीतिक दलहरूको पनि रहेको उल्लेख गर्दै उहाँले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अटल राख्न सबै जिम्मेवार पक्षहरूको परिस्थितिको सूक्ष्म विश्लेषण पक्षपोषक र राष्ट्रियता प्रवद्र्धक भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि सही निर्णय लिन चुक्नु हुँदैन भन्नुभएको छ । वर्तमान परिस्थितिमा दलहरू बीचको आपसी प्रतिस्पर्धालाई थाती राख्दै, मनोमालिन्यता र तीक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीले जोड दिनुभएको छ ।  

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६