अर्थ-वाणिज्य

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’



काठमाडौँ, ४ असोजः

समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरूमाथि गरिएको अध्ययनले ९० प्रतिशत मिर्गौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो ।

उक्त अध्ययन सोही अस्पतालले गरेको थियो । अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्राडा रबिनबहादुर बस्नेतले ५०० जनामा ४७० जनाको मिर्गौला समयमा नै उपचार गरेको भएमा बचाउन सकिने अध्ययनमा देखिएको जानकारी दिनुभयो । 

तीमध्ये ३० जनाको मात्र मिर्गौला जोगाउन नसकिने अवस्थाको रहेको उहाँले बताउनुभयो । ती जोगाउन सकिने मिर्गौला जनचेतनाको कमीले नियमित जाँच नगर्दा जोगाउन नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार धेरैजसो मिर्गौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ५०० जनामा गरिएको अध्ययनमा ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मिर्गौला बिग्रिएको देखिएको छ । त्यसैगरी १५ प्रतिशत जन्मजात मिर्गौलाका बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ । 

पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मिर्गौला फुल्लिँदा मिर्गौला बिग्रने गर्दछ । यसरी एउटा मिर्गौला फुल्लिए पनि अर्को मिर्गौलाले काम गर्ने हुँदा बिरामीले मिर्गाैला फुल्लिएको थाहा पाउँदैनन, जसले गर्दा अर्को मिर्गौला बिग्रने चिकित्सकहरूको भनाइ छ । 

जन्मजात मिर्गौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको २० देखि ३० वर्षको बीचमा मिर्गौला बिग्रने प्राडा बस्नेतले बताउनुभयो । संसारमा एकदेखि चार प्रतिशत मानिसको एउटा मात्र मिर्गौला हुने गर्दछ । 

पानी कम खानाले, मधुमेहका बिरामी, मद्यपानका कारण मिर्गौला बिग्रने गर्दछ । ‘पेनकिलर’ औषधि (आइबुप्रोफेन, निमेसुलाइड) आफूखुसी खाँदा पनि मिर्गाैला बिग्रने गर्दछ । 

वीर अस्पतालमा मिर्गाैला बिग्रेका ५०० जनामध्ये २२० जना पहिलोपटक अस्पताल आएको प्रमुख कन्सल्ट्यान्ट प्राडा बस्नेतले जानकारी दिनुभयो । अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको बढी मिर्गौला बिग्रने समस्या देखिएको छ । उहाँका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने गरेको छ । 

उहाँले मिर्गाैला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । पानी दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मिर्गौलाको जाँच गर्ने गर्नुपर्दछ । 

प्रकाशित : ४ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६