ब्रेकिंग न्युज

पर्वत र बागलुङका घर लिपपोत गर्न म्याग्दीको रातोमाटो



म्याग्दी, ५ असोज
बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको छ । दसैँतिहारअघि ग्रामीण क्षेत्रका ढुङ्घेघरलाई लिपपोत गरेर रङ्ग्याउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा रातोमाटोको खानी छ । म्याग्दी, पर्वत र बागलुङका ग्रामीण क्षेत्रमा घर रङ्ग्याउन आवश्यक रातोमाटो सालघारीको खानीबाट लैजाने गर्छन् ।यसपालि हालसम्म २१ ट्रयाक्टर रातोमाटो बिक्री भइसकेको रत्नेचौरका स्थानीयवासीसमेत रहनुभएका व्यवसायी एकिन्द्र महतले बताउनुभयो । “खानी भएको जग्गाका धनीले प्रतिबोरा रु एक सयका दरले माटो बेच्छन्”, उहाँले भन्नुभयो, “ट्रयाक्टरमा राखेर गाउँगाउँमा पु¥याएर न्यूनतम प्रतिबोरा रु पाँच सयका दरले बिक्री हुन्छ ।”एक दशकअघिसम्म दसैँतिहारको सिजनमा रातोमाटो लिनका लागि सालघारीमा आउने सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । हाल व्यापारीले गाडी र ट्रयाक्टरमा ढुवानी गरेर रातोमाटो घरघरमा पुर्याउने गरेका छन् । वार्षिक ३० ट्रयाक्टरभन्दा बढी रातोमाटो बिक्री हुने व्यवसायी व्यवसायी महतले बताउनुभयो ।खानीबाट बोरामा भरेको माटो ट्रयाक्टरमा राखेर गाउँगाउँमा लगेर बेच्ने गरेको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट माटो किन्नका लागि सालघारी पुगेका सागर सुनारले बताउनुभयो । सफा र चम्किलो हुने भएकाले रत्नेचौरको रातोमाटोको माग उच्च रहेको उहाँले बताउनुभयो । स्थानीयवासीले माटो बिक्रीका साथै माटो खन्ने काम गरेर पनि आम्दानी तथा रोजगारी पाएका छन् । बेनी, बागलुङ, कुश्मा नगरपालिका, जलजला, काठेखोला, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा रत्नेचौरको रातोमाटो खपत हुन्छ ।सालघारीकी जुना किसानले यसपालि मल्लाजका व्यापारीलाई रु २० हजारमा बारीको रातोमाटो ठेक्कामा बेचेको बताउनुभयो । माटो निकालेपछि सम्मिने पाखोमा बारी बनाएर खेतीबाली लगाउने गरेको उहाँले बताउनुभयो । घडेरी सम्याउनका लागि निस्किएको माटो प्रतिट्रयाक्टर रु आठ हजारमा बिक्री गरेको स्थानीय भगवती विश्वकर्माले बताउनुभयो । सालघारीबाट वार्षिक रु तीन लाखको हाराहारीमा रातोमाटो बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ ।पक्की घर बनाउने, रङ र गेरु लगाउने चलन बढेपछि ग्रामीण क्षेत्रका ढुङ्गे घरमा रातोमाटो र कमेरो लगाएर रङ्ग्याउने चलन छ । दसैँअघि घरको सरसफाइ गर्ने, रातोमाटो र कमेरोले लिपपोत गर्ने चलन अझै छ । रातोमाटोले लिपपोत गरेका ढुङ्गेघर चिटिक्क र आकर्षक देखिन्छन् ।रातोमाटो पाइने भएकाले यो ठाउँको नाम रत्नेचौर नामकरण भएको बताइएको छ । रातोमाटो निकाल्दा खाल्डोमा पुरिने, पहिरो खस्ने जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्छ । विपद् र दुर्घटनाको जोखिम न्यूनीकरण गरी रातोमाटोलाई प्रशोधन र प्याकेजिङ गरेर बजारीकरण गर्न सकिने सम्भावना छ ।

प्रकाशित : ५ आश्विन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६