कपिलवस्तु, आश्विन ५ गते
कपिलवस्तु नगरपालिका–८ मधुवनका जीवननाथ कंडेल र लक्ष्मी देवी कंडेल यतिबेला अभिभावक भन्दा बढी नानीबाबुका हेरचाहकर्ताको भूमिकामा व्यस्त छन् । घरकी जेठी बुहारी बिना कंडेलले एकैपटक तेम्ल्याहा (तीन बच्चा) जन्माएपछि उनी अस्वस्थ भएकी छिन् । यस कारण अहिले नवजात शिशुहरूको स्याहार–सुसार हजुरबुबा र हजुरआमामाथि नै आएको हो । बुहारी बिना अस्वस्थ भएपछि व्यवस्थित र सुसंस्कृत परिवारका रूपमा परिचित कंडेल परिवारले ठूलो कठिनाइ भोग्नु परेको छ । समुदायमा सक्रिय भूमिका निर्वाह गर्ने परिवारलाई अचानक आएको यो परिस्थितिले झनै जिम्मेवारी थपेको छ । कंडेल परिवारका सदस्यहरूले उपचारका लागि ठूलो धनराशि खर्च गरेको बताइएको छ ।
बिना कंडेल अहिले माइतीतर्फ स्वास्थ्य उपचार र हेरचाहमा रहेकी छन् । उनी एकैपटक तिन बच्चाकी आमा बनेकी हुन् । कडेल परिवारका दुई छोरा मध्ये जेठा छोरा युवराज कंडेलकी श्रीमती बिना कडेल हुन । कंडेल परिवार हालैका दिनमा परिवारको सम्पूर्ण दायित्व बोकेर अघि बढिरहेका छन् । हजुर बुबा जीवननाथ र हजुरआमा लक्ष्मी देवीको काखमा हुर्किरहेका तेम्ल्याहा नानीबाबु स्वस्थ देखिएका छन् । साथै कंडेल परिवारका कान्छा छोरा शोभाखर कडेल, सिया कंडेलको कोखबाट थप एक बालिका समेत जन्मिएकाले घर अहिले चार नानीबाबुका आवाजले गुञ्जिएको छ । यसरी एकैसाथ नयाँ पुस्ताको आगमनसँगै परिवार नयाँ पुस्तामा प्रवेश गरेको छ । यस घटनाले गाउँघरमा पनि उत्सुकता जगाएको छ । छिमेकी तथा समाजका अन्य सदस्यहरू प्रायः कंडेल परिवारलाई भेट्न आउने गरेका छन् । उनीहरूले परिवारलाई हौसला दिँदै बच्चाहरूको भविष्यप्रति चासो राखेका छन् । यस्तै, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्तीले समेत कंडेल परिवार भेटेर नवजात शिशुहरूको स्वास्थ्य र भविष्यबारे जानकारी लिनुभएको छ । उहाँले “समुदायको साझा सम्पत्ति जस्तै यी बालबालिकाको उज्ज्वल भविष्य बनाउन राज्य र समाज दुवैले साथ दिनुपर्छ,” भन्दै आवश्यक सहयोगका लागि आफनो पहल रहने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय बासिन्दाले कंडेल परिवारको धैर्य, जिम्मेवारी र परिवारप्रतिको समर्पणलाई अनुकरणीय उदाहरणका रूपमा लिएका छन् । एकैपटक तेम्ल्याहा बच्चा जन्मिनु गाउँकै दुर्लभ घटना भएकाले यसलाई सबैले खुशीसाथ स्वागत गरेका छन् ।








प्रतिक्रिया