ब्रेकिंग न्युज

विष्णु खत्रीले ल्याए दसैँगीत ‘प्यारो गाउँघरमा’



गण्डकी, ७ असोज
लोकगायक विष्णु खत्रीले २०६४ सालयता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आउनुभएको छ । यसपालिको दसैँमा उहाँले ‘प्यारो गाउँघरमा’ गीत पाठक÷स्रोतामाझ ल्याउनुभएको छ । यो खत्रीको अठारौँ दसैँगीत हो । ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्तीमगरले स्वर दिनुभएको छ ।खत्रीको शब्द र सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकार ओभी रायमाझी र सारिका केसीको अभिनय छ । खत्रीका अधिकांश दसैँगीतमा प्रवासी नेपालीका दुःख, वेदनालाई समेटिएको पाइन्छ । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दसैँगीत सृजना गर्दै आएको खत्री बताउनुहुन्छ । उहाँका गीतले चाडबाड आएको छनक दिन्छन् ।मार्मिक सृजना र ग्रामीण परिवेशको झझल्को खत्रीका गीतका विशेषता हुन् । गीतको म्युजिक भिडियो छायाँकनस्थलदेखि कलाकार छनोटसम्ममा त्यसको छनक पाइन्छ । गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन उहाँ पारङ्गत हुनुहुन्छ । आफ्ना हरेक सृजनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास गर्दै आएको खत्रीको भनाइ छ ।“दसैँगीत मेरो साङ्गीतिक जीवनको पर्यायजस्तै बनेको छ, विगत १८ वर्षदेखि यसलाई निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो ।दुई दशकभन्दा बढी समयदेखि लोकसङ्गीतमा सक्रिय खत्रीले दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आउनुभएको छ । अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहनुहुन्छ । गत वर्षको दसैँमा खत्रीले ‘रित्तो भकारी’ गीत ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दसैँतिहार गाउँमा’, ‘दसैँतिहारसँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।विसं २०६४ मा सार्वजनिक पहिलो दसैँगीत ‘सुनको जलप’मा खत्रीलाई गायिका बिमाकुमारी दुराले साथ दिनुभएको थियो । पछिल्ला गीतमा उहाँले विभिन्न गायिकाहरूसँग सहकार्य गर्दै आउनुभएको छ । अठार वर्षदेखि लगातार दसैँलक्षित गीत सार्वजनिक गर्नुभएका खत्री दसैँगीतका पर्यायका रूपमा चिनिन थाल्नुभएको छ । उहाँका गीतमा परदेशिएका नेपालीको भोगाइ र उनीहरूको मनोदशाको सजीव प्रस्तुति पाइन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि सास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् ।

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६