जीवनशैली

परिस्थिति अनुसार बदलिनु पर्ने एमाले नेता भट्टराई



कपिलवस्तु, आश्विन ७ गते

नेकपा (एमाले) का नेता खिमलाल भट्टराईले मुलुकको बदलिँदो राजनीतिक परिस्थिति अनुसार दलहरूले आफूलाई समयानुकूल ढाल्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्र आत्मसमिक्षा, आन्तरिक मजबुती र धैर्यपूर्वक अगाडि बढ्नुपर्ने सन्देश दिएका छन् । नेता भट्टराईले आफ्नो फेसबुक वालमा लेख्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) देशको विकास र समृद्धिका लागि निरन्तर काम गर्दै आएको गौरवशाली पार्टी भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “हामीले गफ मात्रै गरेका होइनौं, देशको चौतर्फी विकासमा ठोस काम गरेका छौं । युगीन महत्त्वका काम गरेका छौं र नेपाली जनताले हाम्रो नेतृत्वदायी भूमिकालाई युगयुगसम्म सम्झिरहनेछन् ।”

उनका अनुसार पछिल्ला दिनमा मुलुकको राजनीतिक परिदृश्यमा ठूलो उतारचढाव आएको छ । हत्या, आतंक, आगजनी र लुटपाटजस्ता घटनाका कारण राजनीति प्रभावित भएको स्मरण गराउँदै उनले यसको मूल कारण समयक्रममै स्पष्ट हुने धारणा राखे । तर यस्तो अवस्थाले पार्टीलाई विचलित तुल्याउन नहुने भन्दै उनले कार्यकर्ताहरूलाई संयमित रहन आग्रह गरेका छन् ।

भट्टराईले लेखेका छन्, हाम्रो प्राथमिकता अहिले पार्टीको आन्तरिक जीवनलाई सबल बनाउनमा हुनुपर्छ । आत्मभर्त्सना गरेर वा अनावश्यक आलोचना, विरोध र टिकाटिप्पणी गरेर समय खर्च गर्नु अहिलेको उपयुक्त बाटो होइन । हाम्रो प्रतिपक्षी र विरोधीहरूप्रति मौन रहनु नै अहिले हाम्रो शक्ति हो भन्ने मलाई लाग्छ ।”

उनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको सन्देश उद्धृत गर्दै चुनौतीपूर्ण परिस्थितिमा मौनता र धैर्यलाई नै समाधानको उपायका रूपमा लिन सक्ने बताउनुभयो । दुःख र प्रतिकूल अवस्थामा शान्तभावमा मौन रहनु बुद्धको उपदेश हो । समयले नै समस्याको समाधान दिन्छ भन्ने कुरा मननीय छ । त्यसैले हतास हुनुपर्ने कुनै कारण छैन,” नेता भट्टराईले उल्लेख गरेका छन् ।

यस्तै उनले दलले समयानुकूल आत्मसमिक्षा गर्दै कार्यदिशा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । युग बदलिएको छ, त्यसअनुसार हामी पनि अपडेट र सक्रिय हुनुपर्छ । जनताले एमालेलाई मन नपराएको होइन, परिस्थिति अनुसार बदलिन भनेका हुन् । त्यसैले हाम्रो ध्यान त्यतै केन्द्रीत हुनुपर्छ,” उनको भनाइमा उल्लेख छ ।

नेता भट्टराईको सामाजिक सञ्जालमार्फत आएको यस्तो धारणा पछिल्लो समय पार्टीभित्र र बाहिरका राजनीतिक बहससँगै विशेष चासोको विषय बनेको छ । उनले व्यक्त गरेका विचारलाई एमाले कार्यकर्ताले आत्मालोचना, अनुशासन र संगठनात्मक बलियोपनतर्फ ध्यान दिनुपर्ने सन्देशका रूपमा लिएका छन् ।

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६