अर्थ-वाणिज्य

अझै कायम छ ‘बालीघरे प्रथा’ !



भोजपुर, १० असोजः

ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम छ । यहाँका ४० प्रतिशत हारहारीमा दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको नगर दलित सञ्जालले जनाएको छ ।ग्रामीण क्षेत्रमा सीपमूलक काम गरेबापत दलित समुदायले ज्यालाका रूपमा नगदको विकल्पमा बाली (अन्न) लिने चलनलाई बालीघरे भन्ने बुझिन्छ । यहाँका दलितका लागि योबाहेक अर्को विकल्प नभएकाले पनि यसलाई निरन्तरता दिनु उनीहरूको बाध्यता हो । बालीघरे प्रथामा वर्षभर काम गरेको ज्यालाका रूपमा अन्न लिने चलन हुन्छ । यसअन्तर्गत गाउँघरमा हुने फलाम कुट्ने, फलामका सामग्री अर्जप्ने (धारे लगाउने), कपडा सिलाउने कामको जिम्मेवारी हुने गर्दछ । यो पेसामा लाग्नेलाई जीवन निर्वाह गर्न समस्या छ ।

कपडा सिलाउने काम गरेबापत वर्ष दिनको प्रतिघर १० पाथीदेखि एक मुरी (२० पाथी) अन्न, चाडपर्वमा भाग भनेर मासु, चामल नुन, सेलरोटी दिने चलन अहिले पनि गाउँघरमा कायम नै छ ।देशमा धेरै सामाजिक तथा राजनीतिक परिवर्तन भए पनि गाउँघरमा अहिले पनि बालीघरे चलन रहिआएको नगरस्तरीय दलित सञ्जालका अध्यक्ष दुर्गा रणपहेलीले जानकारी दिनुभयो । बाउबाजेले गरी आएको काम भएकाले अहिले पनि गाउँघरका केही दलित समुदायले बालीघरेमा काम गर्दै आएको उहाँको भनाइ छ ।

उहाँका अनुसार, गाउँघरमा अहिले पनि बालीघरे प्रथा कायम नै छ । सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि धेरै वर्षअघिबाट चल्दै आएको बालीघरे प्रथा हट्न सकेको छैन । केही सुधार भए पनि अहिले पनि ४० प्रतिशत दलित समुदाय बालीघरेमा काम गर्दछन् ।आफूजस्ता अभियन्ताहरूले हकअधिकारका लागि विभिन्न अभियान सञ्चालन गरे पनि त्यो पर्याप्त हुन नसकेको रणपहेलीले बताउनुभयो । यो प्रथाको अन्त्यका लागि हामी लागिरहेका छौँ । विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । तर यस्तो प्रथा भने कायम नै छ । यसको मुख्य कारण गरिबी भएको उहाँले भन्नुभयो । बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा पछिल्लो समय युवापुस्तामा यो पेसाप्रति रुचि घट्दै गएको उहाँको भनाइ छ ।

प्रकाशित : १० आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६