अर्थ-वाणिज्य

‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमार्फत निःशुल्क यातायात सेवा



खोटाङ, १२ असोज

जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका, यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः फर्काउने उद्देश्यले युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउन लागेको हो ।

यही असोज १६ गतेदेखि १९ गतेसम्म र तिहारको अवसरमा आगामी कात्तिक ५ गतेदेखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभयो । “यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पु¥याउने योजनासहित गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । तत्कालीन समयमा ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए”, उहाँले भन्नुभयो ।

निःशुल्क यातायात सेवा उपलब्ध गराउन सञ्चालन गरिएको अभियानको दोस्रो संस्करणलाई यस वर्ष पनि निरन्तरता दिइने राईले बताउनुभयो । “स्वार्थबिना मानवीय सेवाभावले अभियान सञ्चालन गरेका हौँ । माइतीघर पु¥याउन तथा माइतीघरबाट कर्मघर फर्काउन निःशुल्क यातायात सेवा उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “यस वर्षको अभियानका लागि अहिलेसम्म विभिन्न क्षेत्रमा कार्यरत २५ जना युवाले स्वतःस्फूर्त सहभागी हुनेगरी नाम दर्ता गराइसक्नुभएको छ । स्वयम्सेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । चार पाङ्ग्रे एउटा गाडीसमेत व्यवस्था गरिएको छ ।”

मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । सरकारी सेवासुविधा लिइरहेकालाई भने आफूहरूले सञ्चालन गरेको अभियानअन्तर्गतका कुनै पनि सेवा उपलब्ध नहुने पत्रकार सम्मेलनमा जनाइएको छ । 

चेलीका लागि भनेर सञ्चालन गरिने अभियानमा पुरुषलाई पनि आवश्यकता र सहमतिका आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको युवा समूहले जनाएको छ । अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्था, अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिनुभयो ।

अभियानअन्तर्गतका सेवा लिन चाहने यात्रुले बढीमा पाँच किलो तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने सर्तसमेत राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको संयोजक राईले बताउनुभयो ।

दसैँ र तिहार गरी दुई चरणमा सञ्चालन गरिने अभियानमा स्वतःस्फूर्त स्वम्सेवकको भूमिका निर्वाह गर्न चाहने जो कोहीले सहयोग गर्न सक्ने जनाइएको छ । स्वम्सेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुनुपर्ने पत्रकार सम्मेलनमा संयोजक राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार अभियानका लागि जिल्लास्थित दशवटै स्थानीय तहमा संयोजक तोकिएको छ । अभियानको सहसंयोजकमा मौषम कार्की, आर्थिक व्यवस्थापन समितिको संयोजकमा महिला उद्यमी बिमला राई, सचिवालय व्यवस्थापकमा अनिशा रम्तेल, अञ्जना आचार्य, रस्मिता आचार्य र खियामा राई रहनुभएको छ । 

अभियानका लागि होण्डा मोटरसाइकलको दिक्तेलस्थित आधिकारिक बिक्रेता इकिमा सर्भिस सेन्टर तथा साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्ने भएको छ । गत वर्षको अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई शुभम् फाउण्डेसनले निःशुल्क खाना तथा खाजाको व्यवस्था गराएको थियो । महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष बिमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापालगायतका व्यक्ति तथा संस्थाले अभियानका लागि आर्थिक तथा भौतिक सहयोग गरेका थिए । 

प्रकाशित : १२ आश्विन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६