जीवनशैली

सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड



राजविराज (सप्तरी), १४ असोज

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै नवरात्रको आठौँ दिन आज सप्तरीका विभिन्न धार्मिकस्थलमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।

छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा नवरात्र सुरु भएसँगै भक्तजनको चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ । यस स्थलमा पूजाअर्चना र दर्शन गर्दा सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । नवरात्रको पञ्चमीदेखि विशेष पूजापाठ गरिँदै आएको यस मन्दिरमा श्रद्धालुको भीड बाक्लिँदै गएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष करिब १० लाख भक्तजनले दर्शन तथा पूजा गरेका थिए भने यस वर्ष सो सङ्ख्याभन्दा बढी आउने अनुमान गरिएको छ । आज र भोलि महानवमीका दिन नेपालका विभिन्न ठाउँका साथै भारतको विहार राज्यसहित अन्य ठाउँबाट समेत भक्तजन यहाँ आउने गर्छन् ।

श्रद्धालुहरूको सुविधालाई ध्यानमा राखी शक्तिपीठ परिसरमा निःशुल्क भोजन, धर्मशाला, खानेपानी, पार्किङ सुविधा तथा सुरक्षा व्यवस्थाका लागि मन्दिर परिसरमा ३२ वटा सिसी टिभी क्यामेरासमेत जडान गरिएको पिठाधीश ठाकुरको भनाइ छ । घटस्थापनादेखि अहिलेसम्म करिब पाँच÷छ लाखभन्दा बढी श्रद्धालु भक्तजनले छिन्नमस्ता भगवती मन्दिरमा दर्शन गरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो  । 

जिल्लाका दुई शक्तिपीठसहित यस वर्ष भने विभिन्न मन्दिरमा पनि दर्शनार्थीको चहलपहल बढेको पाइएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा रहेको  कङ्कालनी भगवती मन्दिरमा समेत भक्तजनको निकै भीड लागेको छ । यो मन्दिरमा पनि आज बिहानदेखि लाइनमा बसेर भक्तजन पूजाआजा गरिरहेको नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो ।  भोलि (बुधबार) महानवमीका दिन यहाँ हुने पशु बलिका  लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिँदै नवमीका दिन हुने अत्यधिक भीडलाई ध्यानमा राखी व्यवस्थित रूपमा यहाँ स्वयंसेवक परिचालन गरिएको छ ।  

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको  मन्दिरलाई सिङ्गारिएको छभने ट्राफिक व्यवस्थापनसमेत मिलाइएको मन्दिर विकास समितिका सचिव प्रभु मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार कङ्कालिनी मन्दिरमा पूजा गर्ने भक्तजनको अत्यधिक घुइँचो हुन नदिन पूजा गर्नेको छुट्टै लाइन र खसीबोका बलि दिने भक्तजनको छुट्टै लाइनमा जानका लागि व्यवस्था गरिएको छ । यहाँ महानवमीका दिन राँगा बलि हुने महिषासुरको परिसरमा राँगाको पङ्क्ति लगाउने छुट्टै टोली, बलि प्रदान गराउने छुट्टै टोली र राँगा तानेर बाँधसम्म पुर्याउने छुट्टै टोलीको व्यवस्था गरिएको मन्दिर विकास समितिले जनाएको छ  ।

त्यस्तै राजविराजको भगवती मन्दिर र राजदेवी मन्दिरमा समेत ठूलो मेला लागेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित पातोमा रहेका डाक्नेश्वरी मन्दिरमा समेत भक्तजनहरको भीड लागेको स्थानीय उमेश विश्वकर्माले बताउनुभयो । सप्तरीको बोदेवर्सान, कञ्चनपुर, कल्यानपुर, हनुमाननगरका मन्दिरहरूमा देवीको दर्शन र पूजाका लागि भक्तजनको भीड लागेको छ ।

धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिने ती मन्दिरहरूमा दसँै अवधिभर भक्तजनको घुइँचो लाग्ने गर्छ । उक्त स्थानमा मूर्ति तथा नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास रहिआएको छ । 

प्रकाशित : १५ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६